दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह सबैलाई गरेको छ । बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षित तथा अनुशासित वातावरणमा पर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।
चाडपर्वको अवधिमा सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र ट्राफिक नियमको पुर्ण पालना गर्न गराउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ। मनसुनजन्य बर्षातको समयमा ग्रामिण कच्ची सडकहरु पहिरोको कारण जोखिम भए नभएको सुनिश्चिता गरेर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ। व्यापारी व्यवसायीहरुलाई उपभोक्ता हित विपरीत हुने गरि कुनै कार्य नगर्न, म्याद नाघेका खाद्य सामग्री विक्रि नगर्न, अत्यावश्यक खाद्य सामग्रीमा कृत्रिम अभाव सिर्जना गरि कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि नगर्न आग्रह गरिएको छ । त्यस्तै म्याद गुज्रेका वा अखाद्य वस्तु बिक्री गर्नेमाथि कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ।
मनोरञ्जनका नाममा जुवातास खेल्ने वा अन्य अवान्छीत गतिविधि नगर्न आग्रह गरेको छ। साथै धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावमा खलल पुग्ने सम्भावित गतिविधिप्रति सचेत रहन सर्वसाधारणलाई सूचित गरिएको छ। प्रशासनले सार्वजनिक स्थलमा अनावश्यक भीडभाड, हुलदङ्गा र होहल्ला नगरी सभ्य, मर्यादित र उल्लासमय तरिकाले चाडपर्व मनाउन आग्रह गरेको छ।
आपत्कालीन सेवा जस्तै अस्पताल, एम्बुलेन्स, दमकल, सवारीसाधन, स्काभेटर, जनशक्ति र इन्धन तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन भनिएको छ। बदलिँदो मौसमी परिस्थितिबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
यसैगरी देउसी–भैलो तथा चाडपर्व लक्षित खेलकुद प्रतियोगिता (जस्तै क्रिकेट, फुटबल) सञ्चालन गर्दा अनुशासित र व्यवस्थित ढङ्गले सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ।





प्रतिक्रिया