आज बडा दशैंको छैटौं दिन, कात्यायनीदेवीको पूजा गरिँदै

दार्चुला। आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् ।

कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ ।

हाम्रो अगाडि घटित हुनै सबै घटनालाई हामी प्रपञ्च नामले चिन्दछौं । यो ब्रह्माण्डमा भएका सबै वस्तुहरु हामीले देख्न सकिने स्वभावको हुँदैन । जुन कुरा हामी देख्न सक्दैनौं, इन्द्रीयहरुले अनुभव गर्न सक्दैनौं र हाम्रो कल्पनाभन्दा धेरै बाहिर विशाल स्वरुपको छ । त्यो अदृश्य जगतको शासनसत्ता यिनै कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ । कात्यायनीको हामीले देख्ने स्वरुप सोही अदृष्य जगतलाई जनाउने सूचक हो । त्यसैले कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक मान्ने गरिन्छ ।

क्रोध पनि कुनै समय सकारात्मक बलको प्रतीक हुन्छ । कुनै समय यही क्रोध नकारात्मक आसुरी शक्तिको प्रतीक बन्ने गर्दछ । यी दुईमा एकदमै गहिरो भेद पाईन्छ । क्रोध केवल नकारात्मक गुण या शक्ति होईन । सकारात्मकताका साथ देखिएको क्रोध बुद्धिमत्तासँग जोडिएको हुन्छ । सकारात्मक क्रोध एक प्रौढ बुद्धिबाट उत्पन्न हुन्छ । क्रोध यदि अज्ञान र अन्यायकोप्रति छ भने यसले सकारात्मकतालाई सञ्चार गराउने गर्दछ । अतः यहि सकारात्मक क्रोध जुन अज्ञान र अन्यायकोप्रति रहेको हुन्छ । त्यो नै देवी कात्यायनीको विशेषता हो ।

हामीले समय समयमा प्राकृतिक प्रकोपको सामना गर्ने गरेका छौं । ती सबै प्राकृतिक बिपत्तिहरुको सम्बन्ध कात्यायनी देवीसँग जोडिएको हुन्छ । उनी क्रोधको त्यो रुपकी प्रतीक हुन् । जो सृष्टिमा सृजनता, सत्य र धर्मको स्थापना गर्दछिन् । दिव्य कात्यायनी रूपले यो सूक्ष्म जगतमा नकारात्मकताको विनाश गरेर धर्मको स्थापना गर्न मद्दत गर्दछ । भनिन्छ, ज्ञानीको क्रोध पनि हितकर र उपयोगी हुन्छ । जबकि अज्ञानीको प्रेम समेत हानिप्रद हुनसक्छ । यसप्रकार देवी कात्यायनी क्रोधकी त्यो रुप हुन् । जसले सबै प्रकारको नकारात्मकतालाई समाप्त गरेर सकारात्मक ऊर्जाको सञ्चार गर्दछ।

कात्यायनी देवीको पौराणिक कहानी

महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उनको पुत्रीको रुपमा जन्म लिएकोले ती देवीको नाम नै कात्यायनी राखिएको हो । कात्यायनीको उपासनाबाट यस लोकमा स्थित भएर पनि अलौकिक तेज एवं प्रभावबाट युक्त हुँदै रोग, शोक, सन्ताप, भय आदि सर्वथा विनष्ट हुने धार्मिक विश्वास छ ।

देवी कात्यायनीसँग जोडिएको कथा अनुसार कुनै समय एक कत नाम गरेका प्रसिद्ध ऋषि थिए । उनको पुत्र ऋषि कात्य नामले प्रसिद्ध थिए । उनकै नामबाट प्रसिद्ध कात्य गोत्रबाट नै विश्वप्रसिद्ध ऋषि कात्यायन उत्पन्न भएका थिए । ऋषि कात्यायनले भगवती पराम्बराको उपासना गर्दै कठिन तपस्या समेत गरेका थिए । उनको इच्छा थियो भगवतीले आफ्नो घरमा पुत्रीको रुपमा जन्म लिऊन् । भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् ।

केही समयपछि जब महिषासुर नामक राक्षसको अत्याचार बढ्दै गयो । त्यतिबेला नै त्रिदेवले आफ्नो आफ्नो तेज र प्रतापको अंश दिएर ती देवीको उत्पत्ति गरेका थिए । अश्विन कृष्ण चतुर्दशीको दिन कात्यायनकी पुत्रीको रुपमा देवीको जन्म भएको थियो । ऋषि कात्यायनले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमीको तीन दिनसम्म भगवती पराम्बराको विधिपूर्वक पूजा गरेका थिए । सोही पूजाको प्रसाद खाएर दशमीको दिन कात्यायन देवीले महिसासुरमाथि विजय हाँसिल गरेको पौराणिक कहानीमा उल्लेख छ ।

कात्यायनी स्वरूपको पूजा विधि

सर्वप्रथम कलश र त्यसमा उपस्थित देवी देवताको पूजा गर्नुपर्दछ । फेरि देवीको परिवारमा शामेल देवी देवताहरुको पूजा गर्नुपर्दछ । यसको पूजापश्चात् देवी कात्यायनीको पूजा गर्ने गरिन्छ । पूजाको विधि शुरू गरेपछि हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्नुपर्दछ ।

देवीको पूजापछि महादेव र परमपिताको पूजा गर्नुपर्दछ। श्री हरिको पूजा देवी लक्ष्मीको साथ गर्नुपर्दछ । कात्यायनीको स्वरूप अत्यन्त दिव्य र स्वर्ण समान चम्किलो छ । यी देवीको पनि सवारी सिंह हो भने यिनको चार भुजाहरु भक्तलाई वरदान दिनको लागि एक हाथ अभय मुद्रामा र दोस्रो हात वरदमुद्रामा रहेको हुन्छ । अन्य हातहरुमा एउटामा तरबार र अर्कोमा कमलको फूल‍रहेको हुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?