दार्चुला। सुदूरपश्चिम प्रदेशमा दशैंको अवधिभर भएका सवारी दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ भने एक सय २२ जना घाइते भएका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले दुर्घटनामा आठ जनाको मृत्यु र एक सय २२ जना घाइते भएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१२१ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्यांक छ । कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु र ३७ घाइते भएका छन् ।
बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एक जनाको मृत्यु र १४ घाइते, दार्चुलामा एक जनाको मृत्यु र १० जना घाइते, डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएपनि मृत्यु भने कसैको नभएको डीएसपी जोराले बताउनुभयो । दशैंको बेला डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ ।
दशैंको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट दार्चुलामा ३२ हजार सहित प्रदेशभर आठ लाख ७३ हजार राजश्व संकलन गरिएको छ । प्रदेशका ९ वटै जिल्लामा ट्राफिक कारवाहीमा परेका सवारीसाधनबाट उक्त राजश्व स.कलन गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया