दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट सुरू भएको निःशुल्क आँखा शिविरको पहिलो दिन ३७१ जना सेवाग्राहीले परामर्श, उपचार र शल्यक्रिया सेवा पाएका छन्। जिल्लाका तीन ठाउँमा सञ्चालन हुने शिविर अन्तरगत पहिलो दिन विहिबार (आज) गोकुलेश्वरबाट सेवा सुरू गरिएको हो।
असोज २५ गते (पर्सी) सम्म शैल्यशिखर-९ मा अवस्थित गोकुलेश्वर माविमा सञ्चालन हुने आँखा शिविरको पहिलो दिन आएका ३७१ जना सेवाग्राहीमध्ये ७५ जनाको आँखाको शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने भएको छ। पहिलो दिन ९ जना महिला र ११ जना पुरूष गरी २० जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र बाँकीको शुक्रबार (भोली) गरिने आँखा अस्पताल कञ्चनपुरका प्रमुख, नेत्र अधिकृत विरसिंह धामीले बताउनुभयो।
नारायणी आँखा अस्पताल बिरगंज, नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल, आँखा अस्पताल महेन्द्रनगरको आयोजनामा दार्चुलाको तीन ठाउँमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ। नारायणी आँखा अस्पतालका फाउन्डर डा. पदम राज विष्टको नेतृत्वमा आएको टोलीले उपचार तथा शल्यक्रिया गरिरहेको छ।
उहाँका अनुसार असोज २५ गते सम्म शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित गोकुलेश्वर माविमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ। त्यस्तै असोज २६ र २७ गते लेकम गाउँपालिकाको वडा नम्बर ५ रिठाचौपातामा अवस्थित लटिनाथ मावि चौपातामा र असोज २९ र ३० गते मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुर पस्तीमा शिविर सञ्चालन हुने उहाँले बताउनुभयो ।
शिविरमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया (अप्रेसन) गरिने र निःशुल्क औषधी पनि वितरण गरिने बताइएको छ । साथै नजिकको पढ्न लेख्न मिल्ने चस्मा १ सय रुपैयाँमा उपलब्ध गराइने बताइएको छ। आँखाको समस्या भएका बिरामीलाई नजिकको स्थानमा तोकिएको मितिमा उपस्थित भइ सेवाको मौका लिनुहुन सबैलाई अनुरोध गरिएको छ।





प्रतिक्रिया