दार्चुला । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आउँदाे १५औं महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व छोड्ने दोहोर्याउनुभएको छ ।
जेनजी आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रीय कार्यसमितिकाे बैठकमा अहिले पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै १५औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पार्नुभएको हो ।
सभापति देउवाले घरमा सधैँ एकै जना मूली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गर्नुभयो । आफूले यसअघि नै १५औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा नरहने कुरा भनिसकेको स्मरण गराउँदै अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘घरमा सधैँ एकै जना मूली रहँदैन । पार्टीमा पनि हमेशा एकै जना सभापति रही रहँदैन । मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आउँदाे १५औं महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन ।’





प्रतिक्रिया