दार्चुला। दार्चुलामा भाइटिका तिहार र रात्रीजात्राहरुको रौनकता छाएको छ । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि विहान ११ बजेर ३९ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
द्धितीया तिथिका दिन दिउँसो भाइटिका लगाएपछि शैल्यशिखर–७ मा अवस्थित लटिनाथ मन्दिर बन्तोली, मालिकार्जुन–३ मा अवस्थित लटिनाथ मन्दिर चौँड र लेकम–५ मा अवस्थित लटिनाथ मन्दिर मैखोली खर्कमा भब्य रात्री जात्रा लाग्ने गर्दछ। गाउँघरमा रात्रीजात्राको तयारी केही दिन पहिले देखी नै भइरहेको छ। जात्राको पूर्वसन्ध्यामा लेकम-५ मैखोली खर्कमा अवस्थित लटिनाथ मन्दिरमा सरसफाइ गरिएको छ। द्धितीयामा लाग्ने रात्री जात्राको तयारी स्वरुप मन्दिर लिपपोत, रङरोगन तथा सरसफाइ गरिएको स्थानीय राधाबल्लव जोशीले बताउनुभयो । जात्राको अवसरमा पुजाआजा सुरू भएको छ।
लटिनाथ मन्दिर बन्तोलीको व्यवस्थापन समितिले जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि पूर्णरूपमा निषेध गरिएको मन्दिरका जात्रा संयोजक मनिराज जोशीले जानकारी दिनुभयो। नियम उल्लङ्घन गरे जरिवाना तिराउनुका साथै आवश्यक कार्वाही गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । जात्राको लागि मन्दिरमा चहलपहल केही दिन पहिले देखि नै सुरू भएको छ।
लेकम क्षेत्रमा लाग्ने रात्री जात्रालाई व्यवस्थित तथा मर्यादित रुपमा मनाउन सोमबार जिल्ला प्रशासन कार्यालयले पत्रकारहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै सुझाव संकलन गरेको थियो । प्रशासनले सम्बन्धीत स्थानीय तह, वडाका जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिसंग पनि अन्तरक्रिया तथा सुझाव संकलन गरेर सुरक्षा योजना बनाउने प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।
द्धितिया देखि पूर्णीमासम्म लेकम क्षेत्रका विभिन्न मन्दिरमा लाग्ने जात्रामा भक्तजनले पुजाआजा गर्नुका साथै दमाहा लगायत बाजाहरू बजाउने, डेउडा खेल खेल्ने लगायत सांस्कृतिक गतिविधि गर्दछन। जात्राका लागि पहाड पुख्र्यौँली घर भइ तराई र अन्यत्र बसोबास भएका तथा कामको सिलसिलामा गाउँ र देश बाहिर गएकाहरू समेत गाउँ फर्किए पछि अहिले सुदरपहाडका गाउँहरुमा चलहपहल बढेको छ ।
मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी तिहार मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ। पटाका आतिशवाजी लगायतका विस्फोटक पदार्थहरूको प्रयोग, ओसारपसार तथा विक्री वितरण नगर्न भनिएको छ । तिहार धुमधामसंग मनाइरहेको विभिन्न गाउँठाउँबाट खबर प्राप्त भएका छन्।




