दार्चुला । दार्चुलामा जात्राको लहर जारी छ । कात्तिक ११ गते मंगलबार शुक्ल सप्तमीको दिन आज लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित लटिनाथ मन्दिर कैनोडा, महाकाली नगरपालिका वडा नम्बर ७ मा रहेको लटिनाथ मन्दिर धाप रत्यौडा, शैल्यशिखर नगरपालिका वडा नम्बर ५ मा रहेको मालिकार्जुन लटिनाथ मन्दिर सेतकला बुङा, व्याँस गाउँपालिका वडा नम्बर ६ र दुहुँ गाँउपालिका वडा नम्बर १ मा रहेको मालिकार्जुन मन्दिर पिपलचौरी धुरा माणौँ लगायत विभिन्न शक्तिपिठमा जात्रा लागेको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ खेतीगाउँमा रहेको कर्ण केदार मन्दिर करनभाटमा पनि भव्य रात्री जात्रा लागेको स्थानीय नविन जोशीले बताउनुभयो । महाकाली ७ धापमा रहेको लटिनाथ मन्दिर रत्यौडामा दिउँसो नै भाराण लगेर पुजाआजासहित जात्रा सुरु भइसकेको स्थानीय युवा विशाल रैखोलाले बताउनुभयो । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ मा रहेको मालिकार्जुन लटिनाथ मन्दिर सेतकलामा रात्री जात्रा लागेको स्थानीय रोहित साउँदले जानकारी दिनुभयो । त्यस्तै व्याँस ६ र दुहुँ गाउँपालिकाको वडा नम्बर १ मा रहेको मालिकार्जुन मन्दिर धुरा माणौमा पनि रात्री जात्रा लागेको स्थानीय पर्वत भट्टले जानकारी दिनुभयो । यस्तै लटिनाथ मन्दिर लेकम ५ जयपुरमा लागेको भागवत सप्ताह आज समापन हुदैछ भने १३ गते लाग्ने नवमी जात्राको भव्य तयारी भइरहेको छ ।
रात्रीजात्रामा पुजाआजा गर्ने, दामाहा बजाउने, खेल खेल्ने र आफन्तजनसंग भेटघाट गर्ने, धार्मिक र सांस्कृतिक कार्यक्रमसहित अन्तिममा धुपदेउ गरेर जात्रा समापन गर्ने गरिन्छ । रात्री जात्रा लाग्ने मन्दिरक्षेत्रमा सम्बन्धित मन्दिरका समिति र स्थानीय प्रशासनले जात्रा अवधिभर जाँडरक्सी सेवन तथा विक्रि वितरण र जुवातास खेल्ने खेलाउने जस्ता कार्यहरु पुर्ण रुपमा निषेध गरिएको छ ।
मर्यादीत ढंगले जात्रा मनाउन र कानूनको पालना गर्न सबैलाई अनुरोध गरिएको छ । दार्चुलाको प्रशिद्ध हुनैनाथ मन्दिर औतालेक, धुरा र कुणीको जात्रा कात्तिक १२ गते, जयपुर जात्रा १३ गते, मालिकार्जुन जात्रा १८ गते र भगवती जात्रा १९ गते लाग्दैछ । जात्राको तयारी भइरहेको विभिन्न ठाउँबाट खबरहरु प्राप्त भएका छन् ।





प्रतिक्रिया