दार्चुला । राष्ट्रका सात धाम मध्येको एक मालिकार्जुन धाममा शिखर पुजन जात्रा सुरु भएको छ । मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथी र कात्र्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ ।
कार्तिक शुक्ल त्रयोदशी तिथिको जात्रा यो बर्ष सोमबार आज परेको छ । विहान मड भण्डारी घरबाट भराणसहितको टोली शिखर धुराको लागि प्रस्थान गरिसकेको मालिकार्जुनका मुखिया धिरेन्द्र सिंह धामीले बताउनुभयो ।
शिखर पुजन जात्राको दिन शिखर धुरा प्रस्थानको लागि आइतबार देखि नै भक्तजनहरु मालिकार्जुन पुगिसकेको र सोमबार आज विहान ४ बजेबाट भक्तजनहरु शिखरको लागि प्रस्थान गरेको उहाँले बताउनुभयो ।
हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र तीर्थस्थल, आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहीत महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडी देखिनै शुद्ध भएर बस्नुपर्ने हुन्छ ।
शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनबिस्वास छ ।
। शिखर धाममा पुजन जात्रामा सहभागि हुनकोलागी दार्चुलासहित सूदुरपश्चिमका अधिकांस क्षेत्र, देशका विभिन्न ठाउँहरु र सिमावर्ती भारतका विभिन्न क्षेत्रबाट हजारौँको संख्यामा भक्तजन तथा दर्शनार्थी आउने गर्दछन् ।
सोमबार (आज) शिखर पुजन जात्रा सम्पन्न भएपछि मंगलबार (भोली) मालिकार्जुन मन्दिर मड, भव्य रात्री जात्रा लाग्ने गर्दछ ।
मालिकार्जुन जात्रालाई व्यवस्थितमा सम्पन्न गर्न यस अघि नै जिल्ला सुरक्षा समिति र मालिकार्जुन विकास समितिले विभिन्न निर्णयहरु गरेका छन् । यस बर्षदेखि शिखर पुजन जात्रालाई व्यवस्थित गर्न शिखर धामको पुजन जात्रा’मा मोबाइल फोन प्रतिबन्ध लगाइएको छ। मन्दिर व्यवस्थापन समितिको बैठकले शिखर पुजन जात्रामा मोबाइल फोनसहित, लेदरबाट बनेका पर्स, बेल्ट, झोला तथा अन्य सामग्री, सिसा र प्लाष्टिक जन्य बस्तुहरु र बाँसको सिन्काबाट बनेको धुप लैजान नपाउने जनाएको छ ।
यस्तै श्री शैल्यशिखर धाममा लाग्ने पुजन जात्रा र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित मालिकार्जुन मन्दिरमा लाग्ने रात्री जात्राको अवसरमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले कार्तिक १७ र १८ गते दुई दिन सार्वजनिक विदा दिएका छन । मालिकार्जुन जात्रालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुला र ट्राफिक प्रहरीले राजमार्ग क्षेत्रमा सुरक्षा चेकजाँच बढाएको छ ।





प्रतिक्रिया