दार्चुला । दार्चुलाको लेकमबाट पछिल्लो केही दिन यता विभिन्न ब्रान्डको ३० पेटी बढी अवैद्य मदिरा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रिठाचौपाताको टोलीले पछिल्लो तीन साता यता मात्रै लेकम गाउँपालिकाका विभिन्न ठाउँबाट ठुलो मात्रामा अवैद्य मदिरा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरज सिंह भाटले जानकारी दिनुभयो ।
सोमबार मात्रै इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोली लेकम गाउँपालिकाको वडा नम्बर ६ श्रीपुरबाट १४ पेटी मदिरा बरामद गरेको उहाँले बताउनुभयो ।
मदिरा निषेधित क्षेत्र रहेको लेकम गाउँपालिकामा अवैद्य रुपमा मदिरा ओसारपोसार गरिरहेको अवस्थामा सोमबार गोकुलेश्वरबाट कुणी जाँदै गरेको सुपप्र ००१ ज ५५३ नम्बर को जिपलाई शंका लागी चेकजाँच गर्दा १४ पेटी स्पेशल नामक मदिरा नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
यस अघि पनि रिठाचौपाता प्रहरीले विभिन्न समयमा ठुलो मात्रामा अवैद्ध मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।
यस अघि विभिन्न मितिमा १० पेटी स्पेशल, ४ पेटी वियर, १ पेटी भर्जिन, १ पेटी ब्लुडामन्ड जिन र २ बोतल रोस्लान लगायतको मदिरा बरामद गरिएको उहाँले बताउनुभयो । बरामद गरिएको सबै मदिरा इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय रिठाचौताले पछिल्लो समय अवैद्ध मदिरा ओसारपोसारमा कडाइ गरेको छ । हाल इलाका प्रहरी कार्यालय रिठाचौपाताको नेतृत्व प्रहरी नायव निरीक्षक प्रेम बहादुर साउदले गरिराख्नुभएको छ । साउँदले नेतृत्व सम्हाले यता मात्रै रिठाचौपाता प्रहरीले ठुलो मात्रामा अवैद्य मदिरा नियन्त्रणमा लिएको हो ।





प्रतिक्रिया