दार्चुलामा अन्तरपालिका समन्वय बैठक : पूर्वाधार निर्माण र पर्यटन  प्रवर्द्धनमा सहकार्य गर्ने सहमति

दार्चुला । व्याँस गाउँपालिकाको पहलमा दार्चुलाका चार स्थानीय तहहरू—व्याँस, अपिहिमाल, नौगाड र दुहुँ गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ। शुक्रबार जिल्ला सदरमुकाम खलंगामा बसेको उक्त बैठकले सामाजिक, सांस्कृतिक, भौगोलिक र विकाससँग सम्बन्धित विषयमा आपसी सहकार्य गर्दै अघि बढ्ने सहमति जनाएको छ।

जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कश्यप) को प्रमुख आतिथ्यमा सम्पन्न बैठकले भौतिक पूर्वाधार, पदमार्ग विकास तथा पर्यटन प्रवद्र्धनमा केन्द्रित रहेर छ वटा महत्वपूर्ण निर्णयहरू गरेको व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो ।

बैठकको अध्यक्षता गर्दै व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार अनुसार पालिकाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
सीमा क्षेत्रका पूर्वाधार तथा पर्यटन सम्भावनालाई एकीकृत योजनामार्फत अघि बढाउनुपर्नेमा अध्यक्ष धामीले जोड दिनुभयो ।

दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले सहभागी पालिकाहरूबीच सांस्कृतिक र भौगोलिक समानता मात्र नभई विकासका आवश्यकता पनि साझा रहेको बताउँदै पूर्वाधार निर्माणमा एकअर्कालाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले सीमा क्षेत्रका पालिकाहरूले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर संयुक्त योजना बनाउनुपर्ने बताउदै अनुभव आदानप्रदान गर्दै सहकार्यमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा बोल्दै जिल्ला समन्वय समिति प्रमुख बडूले स्थानीय तहहरूले समय–समयमा यस्ता समन्वयात्मक बैठक नियमित रूपमा गर्न सके विकास कार्यमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

बैठकमा मुख्य गरि अन्तरपालिका सम्बन्ध तथा सहकार्य, राप्लाजैति कोलाङ अपिहिमालको सितोला जोड्ने पदमार्ग, धार्मीक पर्यटन पूर्वाधार विकास, दल्लेख नागु सिना सडक र तिमुरपाटा–वाननी – धौलाकोट मडगाउँ–माल सडक गरि ५ वटा प्रस्तावमा माथि छलफल भएको थियो ।

बैठकले सामाजिक, सास्कृतिक र सिमानाले एक आपसमा अन्तर सम्बन्धित रहेका व्याँस, दुहु, नौगाड र अपिहिमाल गाउँपालिकाहरु जनताका साझा विषय वस्तुहरुमा अन्तरपालिका समन्वय र सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले बताउनुभयो ।

त्यस्तै व्याँस गाउँपालिकाको राप्ला जैती कोलाङ र अपिहिमाल गाउँपालिकाको सितोला जोड्ने परम्परागत बाटो पूर्ण रुपमा अवरुद्ध रहेको हुँदा उक्त बाटो पुर्ननिर्माणका लागि व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाको सहकार्यमा आर्थिक स्रोत जुटाई बाटो पुर्ननिर्माण गरी आर्थिक, सामाजिक र पर्यटन क्षेत्रको विकास तथा विस्तारमा जोड दिने, धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेका व्याँस गाउँपालिकाको सिना तातोपानी– दुहुँ गाउँपालिकाको सिद्धटोपी–नौगाड गाउँपालिकाको नागेश्वर धामको दर्शनका लागि आवश्यक पर्यटन पूर्वाधारको विकासमा तीनवटै गाउँपालिकाले समन्वय र सहकार्य गर्ने साथै दूँहु गाउँपालिकाको श्रीवगड तपोवन भाडी र व्याँस गाउँपालिकाको मालिकार्जुन (धुरामाण्डौ), रानीकोट्टा लगायतका धार्मिक स्थलहरुको पर्यटकीय विकासका लागि आवश्यक प्रचार प्रसार तथा पर्यटन पूर्वाधारको विकासमा समन्वय र सहकार्य गर्ने , व्याँस गाउँपालिका र नौगाड गाउँपालिका जोड्ने दल्लेख नागु सिना सडक नौगाड गाउँपालिकाबाट निर्माण कार्य भइरहेको हुँदा व्याँस गाउँपालिकाको वडा नं ३ सिनाबाट समेत उक्त सडक पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको व्याँस गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

त्यस्तै व्याँस गाउँपालिकालाई दार्चुला सदरमुकाम खलंगासंग जोड्ने छोटो मार्गका रुपमा रहेको निर्माणाधिन तिमुरपाटा–हुती–धौलाकोट–मडगाउँ–माल सडक निर्माणको क्रममा जमिन तथा कृषि उपज क्षति भएका नागरिकहरुलाई कृषि उपजको मुल्याङ्कन अनुसार ब्याँस गाउँपालिकाले राहत स्वरुप रकम उपलब्ध गराउने तथा कुनै विवाद उत्पन्न भएमा दुबै गाउँपालिकाका जनप्रतिनिधिहरुले तदारुकताका साथ समाधान गर्ने÷गराउने र व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाको सिमाना जोडिएको तङले विजयपुर क्षेत्रमा दुहु–ब्याँस मिलन केन्द्रको पूर्वाधार निर्माणका लागि ब्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाले आवश्यक स्रोत व्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?