दार्चुला । दार्चुलामा घरपालुवा पशुचौपायालाई महामारीजन्य रोगबाट जोगाउन खोप अभियान जारी छ। गत मंगलबारदेखि जिल्लाका ९ वटै स्थानीय तहमा घरपालुवा जनावरलाई विभिन्न महामारीजन्य रोगबाट जोगाउन निःशुल्क खोप अभियान सञ्चालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी चन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाई, भैँसी, भेडा, बाख्रा, याक र चौरीलगायतका पशुमा एफएमडी, पिपिआर, लम्पी स्किन, स्वाइन फिभरसहितका रोगविरुद्ध खोप लगाइँदै छ। चलिरहेको आर्थिक वर्ष २०८२/०८३ मा ५० हजार गाई–भैँसी र ४० हजारभन्दा बढी याक–चौरीलाई खोरेत (एफएमडी) विरुद्ध खोप दिने लक्ष्य राखिएको छ। त्यसैगरी ३० हजारलाई लम्पी स्किन, ९० हजार भेडा–बाख्रामा पिपिआर, र बंगुरमा फैलिने स्वाइन फिभर विरुद्ध ६ सय मात्रा खोप लगाइने केन्द्रले जनाएको छ।
जिल्लाभर १ लाख २० हजार ६ पशुचौपायालाई सोहीअनुसार खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी धामीले बताउनुभयो। अभियानअन्तर्गत शुक्रबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा ४१ हजार ५ सय ४३ पशुचौपायालाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो।
शुक्रबारसम्मको तथ्यांकअनुसार जिल्लाभर १९ हजार ५ सय ४३ मात्रा एफएमडी (खोरेत) र २२ हजार मात्रा पिपिआर खोप लगाइएको छ।
स्थानीय तह अनुसार खोप विवरण मार्मा गाउँपालिकामा १ हजार ८ सय ५० मात्रा एफएमडी, १ हजार ५ सय मात्रा पिपिआर, नौगाड गाउँपालिकामा ४ हजार २ सय एफएमडी, ७ हजार ५ सय पिपिआर, व्याँस गाउँपालिकामा २ हजार १ सय एफएमडी, अपिहिमाल गाउँपालिकामा १ हजार ७ सय ९० एफएमडी, ३ हजार ५ सय पिपिआर खोप लगाइएको उहाँले बताउनुभयो ।
त्यस्तै दुहुँ गाउँपालिकामा २ हजार ४ सय ७८ एफएमडी, १ हजार ५ मात्रा पिपिआर, मालिकार्जुन गाउँपालिकामा २ हजार ५ सय ३१ एफएमडी, लेकम गाउँपालिकामा १ हजार ७ सय एफएमडी, १ हजार पिपिआर, महाकाली नगरपालिकामा १ हजार २ सय ६० एफएमडी, ५ हजार पिपिआर र शैल्यशिखर नगरपालिकामा २ हजार एफएमडी, २ हजार पशुचौपायालाई पिपिआर लगाइएको उहाँले बताउनुभयो ।
खोप कार्यक्रमका लागि जिल्लाका ९ वटै स्थानीय तहका पशु विकास शाखाबाट कर्मचारी परिचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख लालबहादुर बोहराले बताउनुभयो। उहाँका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा ४ जना र बढीमा ५ जना कर्मचारी परिचालन गरिएको छ।





प्रतिक्रिया