दार्चुला । दार्चुलामा कार्यरत निजामती कर्मचारीहरूले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणका लागि संकलन गरेको सहयोग रकम हस्तान्तरण गरेका छन्। कर्मचारीहरूबाट संकलित दुई लाख ६५ हजार पाँच सय रुपैयाँ पुनर्निर्माण कोषमा जमा गरिएको हो ।
गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक सङ्रचनाको पुनर्निर्माणका लागि दार्चुलामा सङ्कलन गरिएको सहयोग रकम आज एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको छ ।
जिल्ला स्थित विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुबाट सङ्कलित रकम ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ को खातामा जम्मा गरेको बैङ्क भौचर जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू कश्यपलाई हस्तान्त्रण गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
‘राष्ट्र पुनर्निर्माणमा कर्मचारीहरुको एक्यबद्धता’ सहित आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि कर्मचारीहरुबाट रकम सङ्कलन गरिएको उहाँले बताउनुभयो । जिल्लामा कार्यरत करिव तिन सय कर्मचारीहरुबाट दुई लाख पैसठ्ठी हजार पाँच सय रुपैँया सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
सङ्कलित रकम मध्ये सबै भन्दा बढी महाकाली नगरपालिकाले पचास हजार रुपियाँ सहयोग गरेको बताइएको छ । रकम हस्तान्त्रण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले राष्ट्र दुखी रहेका बेला सबै कर्मचारीहरुको योगदानका आधारमा सहयोग रकम हस्तान्त्रण गरिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपले कर्मचारीहरुले जनताको सेवासँगै सामाजिक दायित्व समेत बहन गरेको बताउनुभयो । यहाँका कर्मचारीहरुको सिको गर्दै अन्य जिल्लाका कर्मचारीले पनि राष्ट्रको पुनर्निर्माणमा सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो । दार्चुलाबाट यसअघि थुपै्र व्यक्तिहरुले समेत पुनर्निर्माणका लागि सहयोग गरिसकेका छन् ।





प्रतिक्रिया