दार्चुला। दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पछिल्लो १ वर्षमा वडा भित्र कुनै पनि बालविवाह नभएको पुष्टि भएपछि वडालाई मंगलबार (आज) एक कार्यक्रमका बिच बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष धन सिंह धामीले बताउनुभयो ।
बालविवाहमुक्त गर्न विभिन्न सूचक पूरा गरेको बताउँदै वडाबासीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएपछि बालविवाहमुक्त वडा घोषणा गरिएको मालिकार्जुन गाउँपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख आरती शर्माले जानकारी दिनुभयो । वडा अध्यक्ष धनसिंह धामीको अध्यक्षतामा सञ्चालन भएको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीको प्रमुख आतिथ्यता रहेको शर्माले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरज प्रसाद जोशी, शिक्षा शखा प्रमुख तथा गाउँपालिकाका सूचना अधिकारी लोकेन्द्र सिंह धामी लगायत जनप्रतिनिधि, वडा तथा पालिकाका कर्मचारी, वडाबासीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।
यो संगै ८ वडा रहेको मालिकार्जुन गाउँपालिकाका ६ वडा बालविवाहमुक्त वडा घोषणा भएका छन् ।
आर्थिक वर्ष २०८०÷८१ मा गाउँपालिकाको वडा नम्बर २ र ६ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । त्यस्तै गत आर्थिक वर्ष २०८१÷०८२ मा वडा नम्बर १, ३ र ८, बालविवाहमुक्त वडा घोषणा गरिएको शर्माले बताउनुभयो ।
यो वडा नम्बर ४ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको र बाँकी रहेको वडा नम्बर ५ र ७ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरि यही वर्ष भित्र पालिकालाई नै बालविवाहमुक्त पालिका घोषणा गर्ने तयारी भइरहेको गाउँपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख आरती शर्माले जानकारी दिनुभयो ।





प्रतिक्रिया