कञ्चनपुरमा २ घण्टामै डेढ सय बढी रूख गायब, अख्तियारको समेत चासो

दार्चुला । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रबाट अवैध रूपमा कटान गरिएका रुखहरूको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ ।

बुधबार “दिउँसै एक सय ३९ रुख गायव” शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर, कञ्चनपुरले अनुसन्धान अगाडि बढाइएको जनाएको हो ।

कार्यालयका प्रमुख सह–सचिव वेदप्रकाश भण्डारीले कृष्णपुरमा एकै दिन अवैध तरीकारले रुखहरू काटिएको विषयमा सूक्ष्म ढङ्गले अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।

“गोरखापत्रमा समाचार प्रकाशित भएपछि अख्तियारले विशेष चासोका साथ थप अनुसन्धान अगाडि बढाएको छ” सह–सचिव भण्डारीले भन्नुभयो, “अवैधरुपमा रुख कटानी गर्ने र गर्न लगाउनेमाथि कानुन बमोजिम हदैसम्मको कारबाही गरिँनेछ ।” अनुसन्धानको प्रक्रियामा रहेकाले हालै सबै कुरा भन्न नमिल्ने उहाँले बताउनुभयो ।

अनुसन्धानमा खटिए शाह

गौरीघाट सामुदायिक वनमा पहिलो चरणको अनुसन्धान प्रक्रिया अगाडि बढेको सब डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहले बताउनुभयो । शव डिभिजन वन कार्यालय पिपरैयाले बुझाएको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्दे जाँदा उक्त सामुदायिक वन क्षेत्रबाट १३९ वटा रुखहरू मात्रै नभई १६४ रुखहरू काटिएको तथ्य फेला परेको उहाँले बताउनुभयो । मुचुल्काका आधारमा १६४ वटा रुखका ठुटाहरू अवैधरुपमा कटान गरेर तस्कर गरेको पाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार, केही रुखहरु भने वन क्षेत्रमा नै काटेर छोडिएका छन् । छोडिएका रुख घाटगद्धी गरिने उहाँले बताउनुभयो । शाहले स्थानीयका घरमा खानतलासी गरेर पनि काटिएका काठ दाउरा सबै बरामद गरिने बताउनुभयो ।

“वन क्षेत्रको अनुगमनका क्रममा केही पुराना र नयाँ गरी १६४ रुखहरू काटिएको फेला परेको छ” उहाँले भन्नुभयो, “सबै कानुन विपरीत काटिएको फेला परेकाले अनुसन्धान गरी अवैधरुपमा रुख कटान गर्ने र गर्न लगाउने सबैमाथि कानुनिक कारबाही अगाडि बढाउँछौँ ।”

उहाँका अनुसार, अनुसन्धानबाट १३० खयर, ३३ सिसम र एक कन्जुका गरी १६४ रुखका ठुटा फेला परेका छन् । थप अनुसन्धान अगाडि बढाइएकाले यहाँको गौरीघाट सामुदायिक वनका पदाधिकारी र वडा अध्यक्ष सँग सोधपुछको काम भइरहेको उहाँले बताउनुभयो ।

के थियो योजना, कसरी गायब पारिए १६४ रुख
मङ्सिर ११ गते दिउँसो २ देखि ४ बजेको बिचमा गौरीघाट सामुदायिक वन क्षेत्रबाट झन्डै ६०–७० जनाको समूहले अवैध रूपमा रुखहरू कटान गरे । तर गौरीघाट सामुदायिक वनले भने रुखहरू कटानको विषयमा चाल समेत नपाएको दाबी गरेको छ ।

वनका अध्यक्ष कुमारी बोहराले रुखहरू कटान गरेपछि मात्रै अन्तबाट जानकारी पाएको दाबी गर्नुभयो । सामुदायिक वनले मात्रै होइन, ती रुखहरू कटान गरेको विषयमा नजिकै रहेको शव डिभिजन वन कार्यालय पिपरैयाले समेत कुनै चाल नपाएको जिकिर गरेको छ ।

कृष्णपुरमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइएको छ । उक्त कलेज स्थापना गर्नका लागि अनुमानित १० बिगा जमिन आवश्यक पर्ने बताइएको छ । कोरियाली संस्थाले एक अर्ब ५० करोडको लागतमा उक्त क्षेत्रमा कलेज स्थापनाका लागि आवश्यक पर्ने जमिन उपलब्ध गराउन नगरपालिकासँग सम्पर्क गरे बमोजिम उक्त वडा कार्यालय नजिक रहेको सामुदायिक वन क्षेत्रमा कलेज निर्माण गर्न लागि सम्झौता भएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताउनुभयो । तर रुखहरू कटानको विषयमा भने आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो ।

कोरियाली संस्थाले सुदूरपश्चिम र कणाली प्रदेशलाई मध्यनजर गर्दे उक्त क्षेत्रमा कलेज स्थापनाको काम अगाडि बढाउने अन्तिम तयारी थालेको जनाइएको छ । तर पालिकाको वडा नम्बर ७ मा भने हाल ४ बिगा जमिन मात्रै उपलब्ध रहेको छ ।

उक्त कलेजलाई थप आवश्यक पर्ने ६ बिगा जमिन भने गौरीघाट सामुदायिक वनबाट खालि गर्नका लागि प्रक्रिया समेत नचालेको पाइएको अनुसन्धान अधिकृत भरत शाहले बताउनुभयो ।

कृष्णपुरको दुर्गम क्षेत्र गौरीघाटमा कलेज निर्माणको योजना अगाडि बढाउन यहाँका नगरप्रमुख हेमराज ओझाले कोरियाली संस्थाका प्रतिनिधिसँग लगातार चारपटक उक्त क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा आवश्यक पर्ने जमिन क्षेत्र हालको निष्क्रिय रहेको भनिएको गौरीघाट सामुदायिक वन क्षेत्रको भू–भागलाई नै आधार मानिएको थियो ।

नगर प्रमुख ओझाले उक्त सामुदायिक वन निष्क्रिय रहेको र यहाँको विकासका लागि आवश्यक पर्ने भू–भाग उपलब्ध गराउनु आफूहरूको प्रमुख दायित्व पनि रहेको बताउनुभयो ।

“प्रक्रियागत रूपमा रूपमा रुख कटान गर्न ८–१० वर्ष लाग्ने देखिएपछि स्थानीयहरूले नै स्वरुफुर्त रूपमा रुख कटान गरेको देखिन्छ ।” वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानाले भन्नुभयो । उसो त प्रक्रिया अनुरूप नै गएर रुख कटान गर्न नगर प्रमुख ओझालाई आग्रह समेत गरिएको वडा अध्यक्ष रानाले बताउनुभयो । तर आफूलाई चाल समेत नदिएर ती रुखहरू एकै पटक गायब गरिएको उहाँले बताउनुभयो ।

“यहाँका स्थानीयहरूले आवश्यकता अनुसार नै रुख कटान गरेको बुझिन्छ,’’ नगर प्रमुख ओझाले भन्नुभयो, कसै स्थानीले विरोध जनाएको भए भन्नुहोला ।”

कजेज स्थापना स्थापना गर्नुपर्ने भए प्रक्रियागत रुपमा अगाडि बढ्नुपर्नेमा अबैध तरिकाले एकाएक वनक्षेत्र नै विनास हुने गरी रुख कटानमा संलग्नमाथि छानविन गरि कडा कारबाही गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्र चन्द्र डिसीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?