दार्चुला । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ९ विशालपुरमा खानेपानी योजनाका लागि पछिल्लो पाँच वर्षदेखि निरन्तर बजेट विनियोजन भए पनि योजना कार्यान्वयन हुन सकेको छैन। मेलघट–केदारमाडौं लिफ्ट खानेपानी योजनाका लागि हालसम्म कुल २ करोड ९९ लाख रुपैयाँ बजेट आएको भए पनि काम सुरु नहुँदा योजना अलपत्र परेको हो।
वडाध्यक्ष लोकराज भट्टका अनुसार गाउँका परम्परागत पानीका मुहान सुक्दै गएपछि वैकल्पिक स्रोतका रूपमा उक्त लिफ्ट खानेपानी योजनाको माग गरिएको थियो। आर्थिक वर्ष २०७८(०७९ मा संघ सरकारबाट २ करोड रुपैयाँ बजेट आए पनि डिपिआर ९विस्तृत परियोजना प्रतिवेदन० बनाउँदा मात्र खर्च भई बाँकी रकम फ्रिज भएको उनले बताए। त्यसपछि आर्थिक वर्ष २०७९(०८० मा प्रदेश सरकारबाट ९ लाख रुपैयाँ आएर डिपिआरमै सकिएको र सोही वर्ष थप ५० लाख रुपैयाँ आए पनि योजना कार्यान्वयन नभएको उनको भनाइ छ।
त्यसैगरी आर्थिक वर्ष २०८१(०८२ मा ३० लाख र चालु आर्थिक वर्ष २०८२(०८३ मा प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट आएको भए पनि अहिलेसम्म योजना कार्यान्वयन हुन नसकेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो।
प्रत्येक वर्ष बजेट आए पनि योजना अघि नबढेपछि मेलौली नगरपालिकाले यही मङ्सिर १२ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीलाई योजना कार्यान्वयन गरिदिन पत्राचार गरेको नगरप्रमुख भीमबहादुर चन्दले बताउनुभयो। खानेपानीका लागि हरेक वर्ष बजेट आउँदा खुसी लागे पनि कार्यान्वयन नहुँदा बजेट फ्रिज हुनु दुःखद रहेको उहाँले बताउनुभयो।
स्थानीयवासीका अनुसार विसं। २०४४ सालदेखि प्रयोग गर्दै आएको मर्छलेखोला तलको मुहान सुकेपछि एक गाग्री पानीका लागि दिनभरि दौडधुप गर्नुपर्ने अवस्था सिर्जना भएको छ। योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।





प्रतिक्रिया