दार्चुला । धनगढीमा पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु जन्माएर झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ भद्रटोलकी २९ वर्षीया राममति रानालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो।
राना विवाहित रहेको र उहाँका श्रीमान् रोजगारीका सिलसिलामा विदेशमा रहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार प्रसव पीडाका कारण महिला धेरै बोल्न सक्ने अवस्थामा नरहेकाले नवजात शिशु फाल्नुको कारण पछि मात्र खुल्नेछ।
आज बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ८ भद्रटोलस्थित नालानजिक फालिएको अवस्थामा नवजात शिशु फेला परेको थियो। करिब साढे ९ बजे सालनाल लागेको र कपडाले बेरिएको अवस्थामा शिशु भेटिएको थियो।
प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ। छोरी रहेको नवजात शिशुको अवस्था हाल सकुशल रहेको विष्टले बताउनुभयो।





प्रतिक्रिया