दार्चुला । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित हुनुभएको छ । पदाधिकारीमा पनि ओली पक्षकै वर्चस्व भएको छ ।
अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल प्यानलबाट दुई जना गोकर्ण विष्ट (उपाध्यक्ष) र योगेश भट्टराई (उपमहासचिव) मात्रै विजयी निर्वाचित हुनुभयो ।
उपाध्यक्षमा ओली प्यानलका ३ जना उम्मेदवार निर्वाचित भएका छन् । ईश्वर पोखरेल प्यानलका एक र स्वतन्त्र एक उपाध्यक्षमा विजयी भएका छन् । ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरूमा विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् । पौडेलले १ हजार ६ सय ७५ मत ल्याउँदा थापाले १ हजार ५ सय १६ मत प्राप्त गरे ।
त्यस्तै पूर्व उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत १ हजार ७ सय ३७ प्राप्त गर्दै उपाध्यक्षमा विजयी हुनुभएको छ ।
त्यस्तै पूर्व सचिव रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी हुनुभएको छ । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी हुनुभएको छ ।
महासचिवमा ओली प्यानलकै शंकर पोखरेल निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि महासचिव रहेका पोखरेले १ हजार २ सय २८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत मात्रै प्राप्त गर्नुभयो ।
उपमहासचिवमा ओली प्यानलकै लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल प्यानलका योगेश भट्टराई विजयी हुनुभएको छ । भट्टले १ हजार ४ सय ५२, महासेठले १ हजार ३ सय ६८ र भट्टराई १ हजार ३ सय ४८ मत प्राप्त गर्नुभयो।
९ जना सचिवमा भने सबै ओली प्यानलबाटै निर्वाचित हुनुभएको छ । जसमा सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गर्नुभएको छ । बस्नेतले १ हजार ५ सय ४४ मत प्राप्त गर्नुभएको छ। यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्यालले १ हजार ५ सय ३०, छविलाल विश्वकर्माले १ हजार ५ सय ६, शेरधन राईले १ हजार ५ सय ३, हिक्मतकुमार कार्कीले १ हजार ३ सय ३७, खगराज अधिकारीले १ हजार २ सय ३१, यामलाल कँडेलले १ हजार १ सय ८५, राजन भट्टराईले १ हजार १ सय ८१ र भानुभक्त ढकालले १ हजार १ सय ८ मत ल्याई सचिवमा निर्वाचित हुनुभएको छ ।
८ जनाको डेब्यू
यसपटक एमालेको पदाधिकारीमा ८ जनाले डेब्यू गरेका छन् । उपाध्यक्षमा निर्वाचित भएका रघुजी पन्त पदाधिकारीमा नयाँ हुन् । उनी पहिलोपटक उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै, अन्य ७ जना सचिवहरू पनि पहिलोपटक पदाधिकारी टिममा इन्ट्रि गरेका छन् ।
जसमा भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत छन् । उनीहरू सबै पहिलोपटक पदाधिकारीमा निर्वाचित भएका हुन् ।





प्रतिक्रिया