बझाङमा भुवा पर्वको रौनक सुरू, कसरी मनाइन्छ ?

दार्चुला । बझाङसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा परम्परागत भुवा पर्व सुरु भएको छ । पुष महिनाको औँशीका दिनदेखि सुरु हुने यो पर्व महाभारतकालीन कौरव-पाण्डव युद्धको सम्झनामा मनाइन्छ । औँशीका दिन गाउँका प्रत्येक घरबाट आगो बाल्नका लागि मुढा संकलन गर्ने र राति भुवाखाडा (भुवा नाच्ने चौर) मा ठूलो आगो बालेर राँको सल्काउँदै भुवा नाचको सुरुवात गर्ने परम्परा छ । बाजाको तालमा खुकुरी, तरबार र ढालसहित पुरुषहरूले प्रस्तुत गर्ने युद्धकला हेर्न स्थानीयको उल्लेख्य भीड लाग्ने गर्छ ।

बझाङका कैलाश, भण्डार, मष्टा, थलारा, सुर्मा, छबिसपाथिभेरा, सिरेटा, भण्डार, कोटदेवल, रनाडा, भिनमड, खप्तडछान्ना लगायत दर्जनौँ गाउँमा यस वर्ष पनि भुवा पर्वको रौनक छाएको छ । सात दिनसम्म चल्ने यो पर्वलाई स्थानीय भाषामा भस्सो पर्व पनि भनिन्छ । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा भुवा पर्व मनाउने परम्परा सुरु भएको हो ।

पर्वका क्रममा भुवाको गाथा गाउने, ढाल र तरबारसहित भुवा चाली खेल्ने, लाखे नाच नाच्ने तथा बेलुकी देउडा खेल्ने चलन छ । रातभर आगो बालेर देउडा, भारी खेल, भस्सो लगायतका परम्परागत खेल खेलिन्छन् । औँशीको भोलिपल्ट (द्धितीया) लाई दुयो भनिन्छ । यस दिन घर–घरमा बटुक चुकानी लगायत परम्परागत परिकार पकाइन्छ । साथै इष्टमित्र तथा आफन्तलाई टिको पिठाया (टिकाटालो) लगाई शुभकामना आदान-प्रदान गरिन्छ । पौष शुक्ल पूर्णिमा अगावै विधिपूर्वक भुवा पर्वको समापन गर्ने चलन रहेको छ ।

भुवा पर्वको अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने, भुवा नाच्ने र चौरमा बोकाबली दिने परम्परा समेत रहिआएको छ । केही स्थानमा भुवा खेल्ने क्रममा छैटी खेल्ने चलन पनि छ ।

पर्वको अवसरमा जिल्लाका विभिन्न स्थानमा टोल-टोलबाट राँका बाल्दै स्थानीयहरू एकै ठाउँमा भेला भई बिहानैदेखि भुवा चाली खेलिरहेका छन् । भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा पनि दिइएको छ ।

परम्परागत भुवा पर्व पछिल्ला वर्षमा लोपोन्मुख बन्दै गएको स्थानीयले बताएका छन् । करिब दुई दशकअघि भुवा खेल्दा गाउँका प्रत्येक घरबाट पुरुष सहभागिता हुने गरे पनि अहिले युवाको सहभागिता न्यून हुँदै गएको छ ।

स्थानीयले भुवा पर्वको संरक्षण र पुस्तान्तरणका लागि राज्य र समुदाय दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?