दार्चुला। दार्चुलाका दुर्गम सीमावर्ती गाउँहरू छाङरु र टिंकर जोड्ने घोरेटो बाटो निर्माणका लागि बजेट बिनियोजन गरी भारतसँगको परनिर्भरता हटाउन योगदान पुर्याएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्मानसहित धन्यवाद ज्ञापन गरिएको छ।
आफ्नै जिल्ला सदरमुकाम आवतजावत गर्नसमेत भारतको बाटो प्रयोग गर्नुपर्ने छाङरु–टिंकरवासीको समस्या समाधानका लागि तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले घोरेटो बाटो निर्माणका लागि बजेट विनियोजन गर्नुभएको थियो।
आर्थिक वर्ष २०८१०८२ मा व्याँस गाउँपालिकालाई उपलब्ध पाँच करोड ५० लाख रुपैयाँ बजेट तथा आर्थिक वर्ष २०८२र०८३ मा व्याँस गाउँपालिकाले थप विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट हाल घोरेटो बाटो निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ।
यसपटक करिब २५ वर्षपछि सोही बजेटबाट बाटो निर्माण सम्पन्न भएसँगै छाङरु–टिंकरवासीले नेपालकै बाटो प्रयोग गरी कुञ्जा सदरमुकाम पुग्न पाएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो। उहाँका अनुसार दुई दशकभन्दा बढी समयसम्म कुञ्जा झर्दा वा जिल्ला सदरमुकाम आवतजावत गर्दा भारतीय बाटो प्रयोग गर्न बाध्य व्याँसवासीले घोरेटो बाटो सञ्चालनमा आएपछि भारतीय परनिर्भरता अन्त्य भएको हो। यही योगदानको कदर गर्दै ओली र पौडेललाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो।
शुक्रबार पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमै पुगेर नेकपा एमाले केन्द्रीय कमिटी सदस्य गणेश सिंह ठगुन्ना, व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीलगायतको टोलीले व्याँसवासीको तर्फबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्मानसहित धन्यवाद ज्ञापन गरेको नेकपा एमालेका युवा नेता राजेश विष्टले बताउनुभयो।





प्रतिक्रिया