दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले चालू आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्म विभिन्न मुद्दामा फरार रहेका ५६ जना प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गराएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टका अनुसार अदालत तथा प्रशासनबाट कैद सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूमध्ये यस अवधिमा ५६ जनालाई पक्राउ गरी जम्मा ४ वर्ष ५ महिना ९ दिन कैद भुक्तान गराइएको छ। साथै, उनीहरूबाट ३ लाख ९९ हजार ७ सय ९४ रुपैयाँ जरिवाना असुल गरिएको छ।
सूचना अधिकारी भट्टले मंसिर महिनामा मात्र ३० जना फरार प्रतिवादी पक्राउ गरिएको जानकारी दिनुभयो। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूबाट ३ वर्ष २ महिना २९ दिन कैद भुक्तान गराइनुका साथै २ लाख ४२ हजार ९ सय १४ रुपैयाँ जरिवाना असुल गरिएको उहाँले बताउनुभयो।
फरार प्रतिवादीहरूलाई पक्राउ गर्न मंसिर महिनामा विशेष अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।





प्रतिक्रिया