दार्चुला । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माको नेतृत्वमा आएको टोलीले दार्चुलामा अवस्थित महाकाली नदी किनारको तटबन्ध तथा नेपाल–भारत जोड्ने मोटरेबल पुलको स्थलगत निरीक्षण गरेको छ।
राजदूत शर्मा नेतृत्वको टोलीले बिहीबार बिहान दार्चुलाको असिगाडास्थित महाकाली नदीमाथि निर्माण भएको नेपाल–भारत जोड्ने मोटरेबल पुल, जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा महाकाली नदीमा निर्माण गरिएको तटबन्ध तथा खलंगास्थित पुलघाट सीमाक्षेत्रको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिनुभयो।
बुधबार भारतको धार्चुला पुगेको राजदूत शर्माको टोलीले बिहीबार बिहान नेपालतर्फ निर्माणाधीन विभिन्न संरचनाको निरीक्षण गरेको हो। निरीक्षणका क्रममा दार्चुला सदरमुकाम क्षेत्रमा भारतीय पक्षले महाकाली नदीमाथि एकतर्फी रूपमा नेपाली भूमिमा तटबन्ध निर्माण गरिरहेको विषयमा प्रशासनतर्फबाट राजदूत शर्मालाई ब्रिफिङ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दाहालले लोकदपर्ण टिभीलाई बताउनुभयो। लामो समयदेखि भारतले नेपाली भूमि अतिक्रमण गरी महाकाली नदीमा तटबन्ध निर्माण गरिरहेको विषयमा स्थानीयस्तरबाट विरोध हुँदै आएको छ। यस विषयमा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि जानकारी गराइसकेको छ।
राजदूत शर्माले निर्माणाधीन तटबन्धको स्थलगत निरीक्षण गर्नुका साथै प्रशासनतर्फबाट थप ब्रिफिङसमेत लिइएको दाहालले बताउनुभयो। तर, उक्त विषयमा राजदूत शर्माले तत्काल कुनै प्रतिक्रिया जनाउनुभएन। निर्माणाधीन तटबन्धको विषयमा यसअघि नै प्रशासनले कूटनीतिक पहलका लागि पत्राचार गरिरहेको र समस्या समाधानका लागि आग्रहसहित राजदूतको टोलीलाई स्थलगत निरीक्षण गराइएको सहायक प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो।
त्यस्तै, राजदूत शर्माको टोलीले महाकाली नगरपालिकाको असिगाडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको पनि निरीक्षण गरेको छ। निरीक्षणका क्रममा राजदूत शर्माले पुल सञ्चालनका लागि आवश्यक संरचना निर्माण तथा प्रक्रिया छिट्टै अगाडि बढाउन कूटनीतिक पहल गरिने बताउनुभएको दाहालले जानकारी दिनुभयो। दुवै देशतर्फ आवश्यक संरचना निर्माण गरी छिट्टै पुल सञ्चालनमा ल्याउन पहल गरिने उहाँको भनाइ थियो।
यसका साथै राजदूत शर्मासहितको टोलीले जिल्ला सदरमुकामस्थित झोलुङ्गे पुल तथा सदरमुकाम क्षेत्रको समेत निरीक्षण गरेको थियो। टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
यसअघि राजदूत शर्मालाई नेपाल प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो। निरीक्षण भ्रमणका क्रममा राजदूत शर्माले दार्चुलास्थित सीमाक्षेत्रका समस्या र अवस्थाप्रति चासो व्यक्त गरेको बताइएको छ। यद्यपि भारतीय पक्षले नेपाली सीमा मिचेर तटबन्ध निर्माण गरेको विषयमा राजदूत शर्माले कुनै जवाफ नदिएको प्रतक्षदर्शीले बताएकाछन् ।





प्रतिक्रिया