मार्मा गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न,  लटिनाथ मावि रस्कोट प्रथम

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ स्थित तपोवन माध्यमिक विद्यालय पडपडाको खेलमैदानमा गत विहिबारबाट सञ्चालन भएको छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार (आज) सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत राजेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा लटिनाथ माध्यमिक विद्यालय रस्कोटले २३ स्वर्ण, १४ रजत र ७ कास्य गरि कुल ४४ पदकसहित यस वर्षको छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि उचालेको छ ।

त्यस्तै तपोवन माध्यमिक विद्यालय पडपडाले ९ स्वर्ण, ९ रजत र ४ कास्य गरि कुल २२ पदकसहित दोस्रो स्थानमा रहदा दुर्गेश्रवरी माध्यमिक विद्यालय ताकुले ७ स्वर्ण, ५ रजत र ११ कास्य गरि कुुल २३ पदकसहित तृतीय स्थानमा रहेर प्रतियोगिता टुङ्गाएको जोशीले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा सहभागी अन्य विद्यालय तर्फ लाम्बगर माध्यमिक विद्यालय लाम्बगरले ३ स्वर्ण, ५ रजत र ९ कास्य गरि कुल १७ पदक, दुर्गेश्वरी माध्यमिक विद्यालय घोल्जरले १ स्वर्ण, २ रजत र ५ कास्य गरि कुल ८ पदक प्राप्त गरेको उहाँले बताउनुभयो ।

त्यस्तै सल्लेघारी माध्यमिक विद्यालय मुरैले ३ रजत र ५ कास्य गरि कुल ८ पदक, अपिपथ प्रदर्शक माध्यमिक विद्यालय शेरीले २ रजत र ८ कास्य गरि कुल १० पदक, दुर्गा माध्यमिक विद्यालय च्युरानीले २ रजत र ४ कास्य गरि कुल ६ पदक र शिवालिङ्ग माध्यमिक विद्यालय पत्थरकाँडाले १ कास्य पदक प्राप्त गरेको शिक्षा अधिकृत जोशीले बताउनुभयो ।

प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट छनौट गरेर जिल्लास्तरीय प्रतियोगिताका लागि मार्मा गाउँपालिकाको टीम तयार गरिने बताइएको छ । यस अघि जिल्लाको अपिहिमाल गाउँपालिका र नौगाड गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?