रास्वपाको ‘प्राइमरी इलेक्सन’ मा लोकप्रिय मत ल्याउनेहरू बन्दसूचीमा पछि धकेलिए

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीको प्राथमिकता क्रम र पार्टीले गरेको प्राइमरी इलेक्सनको नतिजामा व्यापक अन्तराल पाइएको छ । प्राइमरीमा लोकप्रिय मत ल्याएकाहरू बन्दसूचीमा पछाडि परेका छन् ।

अन्य पार्टीहरूभन्दा फरक अभ्यास गर्दै रास्वपाले समानुपातिक उम्मेदवारहरूको छनोट प्राइमरी इलेक्सनबाट गरेको थियो । तर, मेयर बालेन्द्र साह र उज्यालो नेपालको कोटाबाट भने सिधै बन्दसूचीमा समावेश गरियो । अन्तिम समयमा उनीहरूसँग सहमति भएकाले हतारमा प्राइमरी इलेक्सन नगरीकन ल्याइएको हो । यसो गर्दा रास्वपाको प्राइमरी इलेक्सनमा जितेका आधाउधि यत्तिकै कटौतिमा परेका छन् ।

रास्वपाको प्राइमरीमा बढी मत ल्याएकाहरु पनि बन्द सूचीको प्राथमिकता क्रममा भने पछि पारिएका छन् । यसको तीनवटा कारण छन् । पहिलो, रास्वपाले प्राइमरी इलेक्सनको नतिजालाई ५० प्रतिशत मात्रै मतभार दिन्छ । बाँकी ५० प्रतिशत मतभार विभिन्न नाममा नेतृत्वले आफैँसित राख्ने गरेको छ । यो ५० प्रतिशत मतभारलाई आधार बनाएर सभापति रवि लामिछानेले आफू निकटहरूलाई माथि ल्याएका छन् ।

दोस्रो कारण चाहिँ बालेनको टीम र उज्यालो नेपाललाई दिइएको कोटा हो । बालेनको कोटाबाट र उज्यालो नेपालबाट प्रस्ताव भएकाहरू समावेश गर्न प्राथमिकता क्रम मिलाउनुपर्दा रास्वपाको सूचीमा व्यापक फेरबदल गर्नुपरेको छ ।

रास्वपामा प्राइमरीतर्फ सबैभन्दा बढी मत ल्याएका थिए रमेश प्रसाईंले । बन्द सूचीमा खस आर्यतर्फ उनी ५ औं स्थानमा झरेका छन् । पहिलो नम्बरमा रास्वपाका सहमहान्त्री विपिन आचार्यको नाम छ । यस्तै, बालेनको कोटाबाट सचिन ढकाल र सुदिप ढकाल क्रमशः दोस्रो र तेस्रो छन् । सचिन ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् ।

खस आर्य पुरुषमा दोस्रो सर्वाधिक मत ल्याएका प्रमोद न्यौपाने सूचीमा चौंथो छन् । उनीपछि रमेश प्रसाईंको नाम छ । कुलमान घिसिङको कोटाबाट अनुप उपाध्याय (तत्कालीन उज्यालो नेपालका अध्यक्ष) छैटौं स्थानमा रहेका छन् ।

खस आर्य महिलातर्फ सबैभन्दा बढी मत रञ्जु दर्शनाले ल्याएकी थिइन् । तर, बन्द सूचीमा उनी निकै पछाडि परेकी छन् । उनलाई १० औं स्थानमा राखिएको छ । पहिलो नम्बरमा प्रतिभा रावल छिन् । उनी रास्वपाकी सहप्रवक्ता हुन् । प्राइमरी इलेक्सनमा उनी खस आर्य महिलातर्फ नवौं स्थानमा थिइन् ।

खस आर्य महिलातर्फ दोस्रो नम्बरमा बालेनको कोटाबाट विदुषी राणा परेकी छन् । उनी गोल्स्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक हुन् । तेस्रोमा रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारी रहेकी छन् । प्राइमरी इलेक्सनमा उनी पाचौं स्थानमा थिइन् । प्राइमरीमा महिलातर्फ दोस्रो रहेकी टिका संग्रौला (ज्वाला) बन्दसूचीमा छैटौंमा झरेकी छन् । विवेकशील साझाबाट आएकी समिक्षा बास्कोटालाई पाँचौ स्थानमा राखिएको छ ।

रास्वपाको प्राइमरी इलेक्सनमा आदिवासी जनजातितर्फ सर्वाधिक भोट ल्याएको उत्तमबहादुर गुरुङ बन्दसूचीमै अटाएनन् । आदिवासी जनजाति पुरुषतर्फ १४ जनाको सूचीमा उनको नाम छैन । आदिवासी जनजाति महिलातर्फ सर्वाधिक मत ल्याएकी सत्यकला राई बन्दसूचीमा भने १६ औं स्थानमा पुगेकी छन् ।

आदिवासी जनजाति पुरुषमा डा. राम लामाको नाम शीर्षस्थानमा छ । उनी बालेनको कोटाबाट हुन् । आदिवासी जनजाति महिलातर्फ टासी लाजोम पहिलो स्थानमा छिन् । उनी रास्वपाको प्राइमरी इलेक्सनमार्फत आएकी हुन् ।

दलिततर्फ प्राइमरी इलेक्सनमा सर्वाधिक मत ल्याएका वियय जैरु बन्दसूचीबाट आउट भएका छन् । दलितमा रुपक विश्वकर्माको नाम पहिलो स्थानमा छ । उनी रास्वपाको प्राइमरी इलेक्सनमा दलिततर्फ सातौं भएका थिए । दलित पुरुषतर्फ दोस्रो स्थानमा प्रकाश सपूतलाई राखिएको छ । उनी बालेनको कोटाबाट छिरेका हुन् । तेस्रोमा प्रकाशचन्द्र परियार छन् । उनी रास्वपाको प्राइमरी इलेक्सनमा हारेका थिए ।

दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा परेकी छन् । उनी उज्यालो नेपालको कोटाबाट आएकी हुन् । दोस्रोमा रास्वपाकी अमृता विक छिन् । उनले प्राइमरि इलेक्स्नमा पनि दलिततर्फ दोस्रो सर्वाधिक मत ल्याएकी थिइन् ।

रास्वपाको प्राइमरी इलेक्सन र बन्दसूची दुवैमा अगाडि रहने एक मात्र भाग्यमानी पुनम अग्रवाल बनेकी छन् । उनले मधेसी महिलातर्फ प्राइमरीमा सर्वाधिक मत ल्याएकी थिइन् । साथै, बन्द सूचीमा पनि मधेसी महिलामा पहिलो नम्बरमा छिन् ।

मुस्लिम पुरुषमा आसिफ साहलाई पहिलो नम्बरमा राखिएको छ । उनी रास्वपा नेता आसिम साहका दाइ भए पनि बालेनको कोटाबाट परेका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?