दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाचमा करेन्ट लागेर एक महिला घाइते हुनुभएको छ । आइतबार (हिजो) बलाच-गोकुलेश्वर मेन लाइनको पोलको स्टेमा छोइन गई वडा नम्बर १ बलाच बस्ने ५४ वर्षीया पार्वती जोशी घाइते भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरज सिंह भाटले जानकारी दिनुभयो ।
घास काट्ने क्रममा पोल अड्याउन राखेको स्टेलाई छुदा जोशीलाई करेन्ट लागेको उहाँले बताउनुभयो । करेन्ट लागेर जोशीका दुबै हात र खुट्टामा गम्भिर चोट लागेको छ । अहिले उहाँको कैलालीको धनगडीस्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको र अवस्था खतरा मुक्त रहेको प्रहरी निरीक्षक भाटले बताउनुभयो ।
घाइते जोशीको गोकुलेश्वरमा रहेको मालिकार्जुन अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धनगढी पठाइएको शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायतले बताउनुभयो ।
त्यस्तै घाइते जोशीको उपचार तथा क्षतीपुर्तीको लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी अनिल पौडललाई ज्ञापन पत्र बुझाईएको छ । सोमबार (आज) शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत बहादुर खडायत, राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष मुकेश पाल लगायतको टोली प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाउनुभएको हो ।
विद्युत प्राधिकरणको लापरवाहीले सो घट्ना भएकोले घाइते जोशीको उपचार तथा क्षतीपुर्तीको व्यवस्था प्राधिकरणले छिटोभन्दा छिटो गर्नुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारी पौडेललाई पहल गरिदिन ज्ञापन पत्र बुझाएको राष्ट्रिय युवा संघ नेपाल, दार्चुलाका अध्यक्ष मुकेश पालले बताउनुभयो ।
उहाँका अनुसार जोशीको बायाँ खुट्टा र दायाँ हातमा गम्भीर चोट रहेको छ । प्राधिकरणको कमजोरीको कारण घट्ना भएकोले घाइते जोशीको सम्पुर्ण उपचार खर्च प्राधिकरणले नै बेहोर्नुपर्ने उहाँले बताउनुभयो । साथै उहाँको हात खुट्टामा गम्भीर चोट रहेकोले प्राधिकरणले क्षतीपुर्ती पनि उपलब्ध गराउनुपर्ने पालले माग गर्नुभयो ।
सो विषयमा विद्युत प्राधिकरण, वितरण केन्द्र दार्चुलाका सूचना अधिकारी पुष्कर बमले प्राधिकरणले घाइते जोशीको बिल भरपाई अनुसारको सम्पुर्ण खर्च उपलब्ध गराउने बताउनुभयो ।





प्रतिक्रिया