दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा अटो रिक्सा सञ्चालन तथा नियमन सम्बन्धि समस्या र समाधानबारे विस्तृत छलफल गरिएको छ।
सुरक्षा अधिकारीहरूको उपस्थितिमा बुधबार (आज) गोकुलेश्वरमा बसेको अन्तरपालिका समन्वय बैठकमा अटो रिक्सा सञ्चालन गर्न रूट परमिट, लाइसेन्स र बिमा अनिवार्य गर्ने, भाडादरमा एकरूपमा कायम गर्ने लगायत विषयमा सहमति जुटेको छ।
पार्किङ, लाइसेन्स, दर्ता, नवीकरण, पार्किङ, रूट, कल्याणकारी कोष, सीट संख्या, बीमा लगायत विभिन्न विषयमा छलफल गर्न र अटो सञ्चालन व्यवस्थापन तथा नियमनका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ। शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा अटो चल्ने नौगाड, डिलाशैनी, मार्मा, शैल्यशिखर लगायत स्थानीय तहका प्राविधिक प्रतिनिधि, अटो व्यवसायी प्रतिनिधि र ट्राफिक प्रहरी लगायत सरोकारवाला सदस्य रहनेगरी १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी अध्ययन कार्यदल गठन गरिएको हो।
एउटा पालिकामा दर्ता गरेर अरू पालिकामा पनि सूचीकरण गरी चलाउन पाउने गरी सहमति भएको छ। यस्तै बैठकमा गोकुले–नौगाड सडकमा सामग्री थुपारेर सडक अवरुद्ध हुने गरेकोले समस्या समाधानका लागि सडक खाली गर्ने गराउने निर्णय गरिएको छ।
शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रमुख आतिथ्यता रहेको थियोे।
यस्तै सशस्त्र प्रहरी बल नेपाल न.४४ गण दार्चुलाका प्रमुख एसपी देव राज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी गौरव महत, राष्ट्रिय अनुसन्धान विभाग दार्चुलाका कार्यालय प्रमुख गोविन्द प्रशाद पाण्डेय, नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी, मार्मा गाउँपालिकाका प्रमुख प्रकासकीय अधिकृत धर्मेन्द्र जोशी, इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक निरज सिंह भाट लगायतको उपस्थिती रहेको थियो ।





प्रतिक्रिया