दार्चुला । अमेरिकास्थित गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा नबोलाइएको जनाएको छ । एनआरएनए एनसीसी यूएसएले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा नबोलाइएको जनाएको हो ।
“एनआरएनए एनसीसी यूएसएले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौँ । साथै, एनआरएन एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन,” एनआरएनए एनसीसी यूएसएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनआरएन एनसीसी यूएसएले आफ्नो जानकारी, स्वीकृति तथा आधिकारिक निर्णयबिना केही व्यक्ति र समूहले संस्थाको नाम, ईआईएन तथा बेवसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
एनआरएनए एनसीसी यूएसएले खेलकुदमन्त्री गुप्ता जाने भनिएको युवा कार्यक्रमसँग आफ्ने कुनै संलग्नता, स्वीकृति वा सम्बन्ध नभएको जनाएको छ ।
संस्थाको आधिकारिक स्वीकृतिबिना गरिएको कुनै पनि कार्यक्रम, भ्रमण वा गतिविधि पूर्ण रूपमा अवैध र अमान्य ठहरिने जनाइएको छ ।




