दार्चुला । बैतडी जिप दुर्घटनामा मृतकको संख्या ४ पुगेको छ । सोमबार (आज) विहान जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका वडा नम्बर ८ साँडीघाटी नजिक सुर्नया गाउँपालिका वडा नम्बर ६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको थियो । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एक जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुरज सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते मध्य पनि २ जनाको स्वाथ्य अवस्था गम्भीर रहेको छ । दुर्घटनाको समयमा जिपमा १० जना सवार रहेका थिए ।
सिगास गाउँपालिका वडा नम्बर १ दुधिलाखान बस्ने चालक गणेश विष्टले चलाएको म १ ज २२४ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब २ सय ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि सिगास गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय निसान्त बोहरा, सोही ठाउँका २८ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ बस्ने १३ वर्षीय राकेश रावलको घटनास्थल मै मृत्यु भएको थियो भने सिगास १ की २७ वर्षीया बसन्ती ऐरको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
दुर्घटनामा जिपमा सवार अन्य ६ जना घाइते भएका छन् । घाइते मध्ये पनि २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइतेहरुमध्ये बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ बस्ने ११ वर्षीया बिमला ऐर र सोही ठाउँका २५ वर्षीय लालमणी बोहराको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अन्य घाइतेहरुमा सिगास गाउँपालिका वडा नम्बर १ की ४ वर्षीया प्रन्सा ऐर, सिगास १ दुधिलाखान बस्ने २८ वर्षीय (चालक) गणेश विष्ट, डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ घर भई सिगास माध्यमिक विद्यालय गाजँरीमा कार्यरत शिक्षक ३२ वर्षीय विरेन्द्र बोहरा र पाटन नगरपालिका वडा नम्बर ८ बस्ने २५ वर्षीया कमला विष्टको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सिंहले जानकारी दिनुभयो ।
घटनापछि स्थानीयवासी र प्रहरी टोली उद्धारकार्यमा खटिएका थिए । दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।





प्रतिक्रिया