दार्चुला । मार्मा गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूलाई हालै गरिएको शैक्षिक निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
शैक्षिक गुणस्तर सुधारको लागि गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरूको पौष २५ गते गाउँपालिकाको सभाहलमा सम्पन्न बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न गाउँपालिका अन्तरगतका सबै विद्यालयलाई अनुरोध गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले बताउनुभयो ।
बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लागि सोमबार गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सबैलाई आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्न निर्देश गरेको छ ।
जोशीका अनुसार विद्यालयहरुले माघको तेस्रो हप्ताभित्र पाठ्यक्रमले निर्धारण गरेको विषयवस्तुको एक चरणको सिकाइ सहजीकरण अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने र त्यसपछि पुनरावृत्तिका शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने छ।
त्यसैगरी हरेक शनिबार तथा सार्वजनिक बिदाका दिन कक्षा ५, ८, १० र १२ को नतिजा कमजोर भएका विषयहरूमा विशिष्टीकरण तालिकामा आधारित नमुना प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन गर्ने निर्णय कार्यान्वयन गर्न भनिएको छ ।
परीक्षाको प्रश्नपत्र, विद्यार्थीको प्राप्ताङ्क, मूल्याङ्कन तथा व्यक्तिगत पृष्ठपोषणको अभिलेख अनिवार्य रूपमा राखी प्रति विद्यार्थी प्रति परीक्षा २० रुपैँयाका दरले भुक्तानीका लागि प्रमाणित फाइल गाउँपालिकामा पेश गर्नुपर्ने, आधारभूत तह कक्षा ५ र कक्षा ८ को परीक्षा गाउँपालिकाबाट स्तरीय प्रश्नपत्र निर्माण र आवश्यक जनशक्ति व्यवस्थापन गरी सञ्चालन गरिने भएकाले विद्यालयहरूले आफ्नो आन्तरिक तयारी, सिकाइ रणनीति र नतिजा सुधार योजनामा कुनै पनि बहाना स्वीकार नहुने गरी कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ।
त्यस्तै आवश्यक सहयोग चाहिने विद्यालयले नतिजा सुधार प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गराई माघको पहिलो हप्ताभित्र गाउँपालिका कार्यालयमा पेश गर्नुपर्ने जोशीले बताउनुभयो ।
गाउँपालिकाले बालबालिकाको शैक्षिक उपलब्धि सुधारका लागि अभिभावकहरूलाई पनि जिम्मेवार बनाउँदै विद्यार्थीलाई नियमित विद्यालय पठाउन, विद्यालयमै गरेर सिक्ने वातावरणमा सहभागी गराउन तथा घरमै पनि सिकाइको अनुगमन गरी पृष्ठपोषण दिन आग्रह गरेको छ ।
‘शैक्षिक गुणस्तर सुधार वर्ष २०८२’ लाई सफल बनाउन शिक्षा क्षेत्रका बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, नागरिक समाज र सरोकारवाला निकायहरूलाई समेत निष्क्रिय नबस्न र प्रत्यक्ष सहयोग गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताउनुभयो ।
सूचना मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशीद्वारा जारी गरिएको हो। गाउँपालिकाले निर्णय कार्यान्वयनको नियमित अनुगमन गरिने र अपेक्षित प्रगति नदेखिए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।




