दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा ‘नरहरि’ र तराईमा बसोबास गर्ने थारू समुदायमा माघी पर्वको रौनक छ । माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ । नरहरिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको छ । विहानै नुहाएर कागलाई रोटी खुवाउने र त्यसपछि आफुले पनि खाएर दिनभरि रमाइलो गर्ने चलन छ ।

पहाडमा माघ १ गतेको दिन घाँस, स्याउला नकाट्ने चलन रहेकोले पुस मसान्तमा काटिएको घाँस, स्याउला घरपालुवा जनावरलाई खुवाइन्छ । पुसको अन्तिम साँझ अथवा पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने चलन छ । पुसको अन्तिम साँझ पकाएका खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरेर ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने गरिन्छ । धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम कागले गर्ने मान्यता रहेको छ ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ । कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गर्ने चलन रहेको छ । माघ १ गतेको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने गरिन्छ ।

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रुपमा लिइन्छ । कागले पुस १५ गते तीर्थस्थलमा गई स्नान गरी फर्केर रोटी खाने गरेको जनविश्वास छ । काग अत्यन्तै चलाखसँगै सर्वभक्षी प्राणी हो ।

कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ । यसले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा पनि लिइन्छ । माघ १ गतेको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । कागले लगेर लुकाएको रोटीलाई ब्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सप्रिने विश्वास समेत रहेको छ ।

माघमा माछा मासु खानु हुँदैन भन्ने चलन पनि पुस्तौंदेखि चलिआएको छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन अनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ ।

सुदूरपश्चिममा काम विशेषले बाहिर रहेकाहरु माघे सङ्क्रान्ति नरहरी पर्व मनाउन घर फर्किने गर्छन भने विवाहित महिला माइतीघर जाने चलन पनि रहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?