दार्चुला । दार्चुलामा निर्वाचन प्रहरीमा भर्ना हुन १ हजार ६ सय बढीले आवेदन दिएका छन् । आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकारले निर्वाचन प्रहीले भर्नाको लागि आवेदन खुलाएको थियो ।
सोही अनुसार दार्चुलामा पनि (आवेदन दिन सकिने मिति) पुस २५ गते देखि माघ १ गते सम्म आवेदन माग गरिएको थियो । आवेदन दिने अन्तिम दिन विहिबार सम्म दार्चुलामा प्रहरी र सशस्त्र प्रहरी गरि दुबै कार्यालयमा निर्वाचन प्रहरीको लागि १ हजार ६ सय ६१ जनाले आवेदन दिएको छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट उक्त समय सीमा भित्र १ हजार १ सय ४ जना पुरुष र ५ सय ३७ जना महिला गरि १ हजार ५ सय ४१ जनाले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीको लागि आवेदन दिने समय थप नभएको जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नम्बर ४४ गण दार्चुलामा विहिबार सम्म १ सय २० जना पुरुषले निर्वाचन प्रहरीको लागि आवेदन दिएको सशस्त्र प्रहरी बल नम्बर ४४ गण दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक सूचना अधिकारी लिली बहादुर चन्दले बताउनुभयो ।
निर्वाचन प्रहरीमा आवेदन दिएकाहरको लागि सम्पर्क मिति यहि माघ ४ गते तोकिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल कार्यविधि–२०८२” अनुसार जिल्लामा ९ सय ३० जना निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
सुदूरपश्चिमका केही जिल्लाहरुमा आवेदन दिने म्याद थपिएको भए पनि दार्चुलामा भने म्याद थपिएको छैन ।




