दार्चुला । दार्चुलाको लेकम गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित कृष्ण माध्यमिक विद्यालय लालीको खेलमैदानमा आजबाट प्रतियोगिता सुरु भएको हो । आइतबार आज गाउँपालिकाको सामाजिक विकास समिति संयोजक, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश सिंह थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राम दत्त जोशीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो ।
प्रतियोगिता उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशी, विभिन्न वडाका वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
प्रतियोगिता अन्तरगत आज ४ वटा खेलको फाइनल चरण सम्पन्न भएको गाउँपालिकाका रोजगार सहसयोजक तथा वडा नम्बर ५ का वडा सचिव दिपक सिंह धामीले बताउनुभयो ।
प्रतियोगिता अन्तरगत आज सम्पन्न भएका छात्रा तर्फको हाइजम्प प्रतियोगितामा हुनैनाथ माध्यमिक विद्यालय रातामाटाकी छात्रा मनिसा जोशी प्रथम हुनुभएको छ । त्यस्तै लटिनाथ माध्यमिक विद्यालय चौपाताकी छात्रा पुजा नाथ द्धितीय र हुनैनाथ माध्यमिक विद्यालय कुणीकी छात्रा पार्वती धामी तृतीय हुनुभएको छ ।
हाइजम्पमा छात्रतर्फ हुनैनाथ माध्यमिक विद्यालय कुणीका नविन सिंह कार्की प्रथम, हुनैनाथ माध्यमिक विद्यालय रातामाटाका नवराज पन्त द्धितीय र कृष्ण माध्यमिक विद्यालय लालीका योगेश बिक तथा लटिनाथ माध्यमिक विद्यालय चौपाताका निरज बोहराले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
छात्रातर्फ सटफुटमा लटिनाथ माध्यमिक विद्यालय चौपाताका पुजा नाथ प्रथम, गल्लाकेदार माध्यमिक विद्यालय खरकडाका रापुन्जली पार्की द्धितीय र हुनैैनाथ माध्यमिक विद्यालय कुणीका पार्वती जोशी तृतीय हुनुभएको छ ।
छात्रतर्फ सटफुटमा लटिनाथ माध्यमिक विद्यालय चौपाताका आकाश बोहरा र हुनैनाथ माध्यमिक विद्यालय कुणीका तिलक सिंह थापा प्रथम हुनुभएको छ भने बडीपुर माध्यमिक विद्यालय सर्मोलीका अम्बादत्त पन्त द्धितीय र हुनैनाथ माध्यमिक विद्यालय रातामाटाका नवराज पन्तले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
पहिलो दिन ४ स्वर्णको खेल सकिदा लटिनाथ माध्यमिक विद्यालय चौपाताले २ स्वर्ण, १ रजत र एक कास्य गरि कुल ४ पदक प्राप्त गरेको छ ।
त्यस्तै हुनैनाथ माध्यमिक विद्यालय कुणीले २ स्वर्ण र २ कास्य गरि कुल ४ पदक प्राप्त गरेको छ । त्यस्तै हुनैनाथ माध्यमिक विद्यालय रातामाटाले एक स्वर्ण १ रजत र १ कास्य गरि ३ पदक प्राप्त गरेको छ । प्रतियोगितामा गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।





प्रतिक्रिया