दार्चुला। जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । महिला/पुरुष गरि जम्मा ४० जनाको क्षमता रहेको कारागारमा अहिले क्षमता भन्दा दोब्बर बढी ९२ जना कैदीबन्दी रहेको जिल्ला कारागार दार्चुलाका कार्यालय प्रमुख, जेलर सरिता चन्दले बताउनुभयो ।
कारागारमा २५ जना पुरुष र १५ जना महिला गरि ४० जनाको मात्रै क्षमता हो तर अहिले कारागारमा २२ जना बन्दी र ७० जना कैदी गरि ९२ पुरुष कैदीबन्दी रहेका छन् ।
अहिले कारागारमा रहेका सबै कैदीबन्दी पुरुषमात्रै रहेकोले व्यवस्थापनमा केही सहज भएको उहाँले बताउनुभयो । कारागारको महिला सेलमा समेत अहिले पुरुष कैदीबन्दी राखिएको छ । नयाँ महिला कैदीबन्दी आएमा व्यवस्थापन थप चुनौतीपूर्ण हुने जेलर चन्दले बताउनुभयो।
२०३८ सालमा निर्माण भएको कारागार भवन हाल जीर्ण अवस्थामा रहेको छ। जीर्ण भवनकै सेलहरुमा कैदीबन्दीलाइ कोचाकोच गरि राखिएको छ ।
कैदीबन्दीलाई शौचालय तथा सुत्ने स्थानको निकै अभाव रहेको उहाँले बताउनुभयो । साँघुरो ठाउँकै कारण कैदीबन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको उहाँले बताउनुभयो । ‘अहिले चिसो मौषम भएकोले बसाई केही सहज भएको छ। गर्मी मौषममा यहि अवस्था रहे विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ, गर्मी मौसममा बास व्यवस्थापन झन् चुनौतीपूर्ण बन्ने देखिएको छ’ कारागार प्रमुख चन्दले भन्नुभयो ।
यस्तै कारागारमा पछिल्ला छ महिनादेखि स्वास्थ्यकर्मीको पनि अभाव छ । १ जना अहेब पदका लागि दरबन्दी रहे पनि साउन महिनादेखि हालसम्म कुनै पनि स्वास्थ्यकर्मी खटिएका छैनन्। जस कारण कैदीबन्दीको स्वास्थ्य जाँच तथा उपचारमा पनि समस्या भईरहेको छ ।
स्वास्थ्यकर्मी नहुँदा सामान्य बिरामी परेका कैदीबन्दीलाई समेत जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ। कारागारदेखि अस्पतालको दूरी करिब ५०० मिटर मात्र भए पनि सवारीसाधनको व्यवस्था नहुँदा सुरक्षाकर्मीको साथमा कैदीबन्दीलाई पैदल नै लैजानुपर्ने अवस्था रहेको जेलर चन्दले बताउनुभयो।





प्रतिक्रिया