दार्चुला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको जनाउनुभएको छ । आइतबार फेसबुकमा गरेको पोस्टमा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको उल्लेख गर्नुभएको हो।
नयाँ र पुराना दलहरू पार्टीको तर्फबाट प्रधानमन्त्रीको उमेदवार घोषणा गर्दै चुनावमा होमिएको स्थितिमा सार्वजनिक वृत्तबाट त्यस्तो माग आएकोमा आफू सकारात्मक रहेको ओलीको भनाइ छ ।
उहाँले सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको र फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने उल्लेख गर्नुभएको छ ।
ओलीले फेशबुकमा लेख्नुभएको छ, ‘यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दल पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्, देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ । यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।’
उहाँले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउनुभएको छ र यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह पनि गर्नुभएको छ ।




