दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको शैल्य आधारभूत विद्यालय उदयपुर उल्लानीको ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार हिजो उद्घाटन भएको दुई दिने कार्यक्रम आज सम्पन्न भएको विद्यालयका शिक्षक प्रदिप धामीले जानकारी दिनुभयो ।
वार्षिकोत्सव समारोहमा हाजिरिजवाफ, चित्रकला, गणित दौड लगायतका अन्तर विद्यालय स्तरीय प्रतियोगिता र विद्यालयका आन्तरीक क्रियाकलापहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो । ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन गरिएको थियो ।
वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयका पूर्वशिक्षक देवराज विष्टले स्थापना गरेको अक्षयकोषमा अभिभावकहरुले पनि कोष थपेको उहाँले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तारा सिंह धामीले विद्यालयको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीर सिंह धामीको अध्यक्षता रहेको समापन समारोहमा वडा नम्बर ६ का वडा सदस्य पदम सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्थानीय कलाकार, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक प्रदिप धामीले गर्नुभएको थियो ।




