दार्चुला । सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले ट्राफिक सप्ताह–२०८२ सुरू गरेको छ । सोमबार (आज) देखि एक हप्तासम्म माघ १८ गते समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको हो ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम पालना गरौ, दुर्घटनाबाट बचाऔँ भन्ने नारासहित ट्राफिक सचेतना सप्ताह आयोजना गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी सहायक निरीक्षक विनोद कुमार विष्टले बताउनुभयो । ट्राफिक सचेतना सप्ताहको आज एक कार्यक्रमका बिच जिल्ला सदरमुकाम खलंगामा उद्घाटन गरिएको उहाँले बताउनुभयो ।
सदरमुकाम खलंगामा आज सञ्चालन भएको सप्ताह उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, दार्चुला स्थित सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४४ गण दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) गौरव महत लगायतका उपस्तिथीमा सदरमुकाम क्षेत्रमा प्रभातफेरी निकालिएको थियो ।
त्यस्तै कार्यक्रममा यातायात व्यवसायी, सवारी चालक, विद्यार्थीहरुको पनि सहभागिता रहेको उहाँले बताउनुभयो । सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्ताको व्यवहार सुधार गर्ने, ट्राफिक नियमको पालनाका लागि सबैलाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विष्टले बताउनुभयो ।




