दार्चुला । दार्चुला सदरमुकाम खलंगामा सञ्चालन भएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ, गेटा आँखा अस्पताल र महाकाली नगरपालिकाको संयुक्त आयोजना र रुइत फाउण्डेशनको आर्थिक सहयोगमा शनिबारबाट नगरपालिकाको वडा नम्बर ४ खलंगा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो ।
तीन दिन सम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरमा १ सय ३६ महिला र १ सय १८ पुरुष गरि २ सय ५४ जनाको मोतिबिन्दुको शैल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र राज विष्टले जानकारी दिनुभयो ।
शिविरमा ९ सय ११ जना महिला र ८ सय ८२ जना पुरुष गरि कुल १ हजार ७ सय ९३ जनाले आँखा परीक्षण गराएको उहाँले बताउनुभयो । शिविरमा सहभागि मध्ये आँखाको समस्या रहेका १ हजार ५ सय ३९ जनालाई निःशुल्क औषधी र ७ सय ७८ जनालाई चस्मा वितरण गरिएको विष्टले जानकारी दिनुभयो ।
यस्तै यहि माघ १४ र १५ गते बैतडीको दोगडाकेदार गाउँपालिकाको सनातन धर्म माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने विष्टले जानकारी दिनुभयो ।




