दार्चुला । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज दार्चुलासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली आजरातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सक्रिय हुने छ ।
महाशाखाका अनुसार आज दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ । यस पटक २ हजार मिटरदेखि माथिका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौषमविद्हरुले जनाएका छन् । दार्चुलासहित बैतडी, डडेल्धुरा, बझाङ र बाजुराका उच्च भेगमा अत्यधिक हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार सुदूरपश्चिमबाट सुरु भएको न्यूनचापीय प्रणाली आज बेलुकापछि पूर्वतर्फ सर्दै जानेछ, जसको प्रभाव आज र भोलि दार्चुलामा निरन्तर रहने सम्भावना छ ।
भोलि काठमाडौँ उपत्यकासहित देशका धेरै भागमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । तर तराई क्षेत्रमा भने यसको प्रभाव सामान्य मात्रै रहने मौसमविद्हरूले बताएका छन् ।
यसअघि गएको शुक्रवार र शनिवार पनि दार्चुलासहित पश्चिम नेपालका उच्च भूभागमा वर्षासँगै हिमपात भएको थियो । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार आज र भोलि हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि ठूलो झरी पर्ने सम्भावना भने कम छ ।
वर्षा तथा हिमपातले प्रभावित क्षेत्रमा सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा प्रभावित हुन सक्ने भएकोले यात्रा गर्नेहरू, किसान तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।




