दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५, मैखोलीमा अवस्थित ऐतिहासिक डाँडाबाग मन्दिरको पुनर्निर्माण कार्य भइरहेको छ । केही दिनभित्रै छत ढलान गर्ने गरी निर्माण कार्यमा प्रगति भएको छ ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको यो मन्दिर स्थानीयको सक्रिय सहभागितामा नयाँ स्वरूप, नयाँ ऊर्जा र नयाँ आशासहित पुनर्निर्माण भइरहेको हो । समुदायसँग धार्मिक आस्थाको हिसाबले गहिरोसंग जोडिएको डाँडाबाग मन्दिर केवल पूजा–अर्चनाको स्थल मात्र नभई स्थानीय संस्कार, परम्परा तथा आध्यात्मिक र सामाजिक एकताको धरोहरका रुपमा रहेको छ ।
हाल मन्दिर पुनर्निर्माण कार्यमा स्थानीय बुवा–आमा, दाजुभाइ, दिदीबहिनी तथा युवायुवतीको उल्लेखनीय सहभागितामा पुनर्निर्माण कार्य भइरहेको स्थानीय शम्भुराज जोशीले बताउनुभयो । कसैले श्रमदानमार्फत, कसैले आर्थिक सहयोगद्वारा र कसैले नैतिक समर्थन तथा हौसलासहित अभियानलाई अघि बढाइरहेको उहाँको भनाई छ । गाउँभित्र र बाहिर तथा स्वदेश र विदेशमा रहेका आस्थावान भक्तजन, शुभेच्छुक र दाताहरूले पनि सहयोग गर्दै पुनर्निर्माण कार्यमा योगदान पुर्याइरहेको अर्का स्थानीय राधाबल्लब जोशीले बताउनुभयो ।
मन्दिर पुनर्निर्माण समितिका अनुसार, डाँडाबाग मन्दिरलाई भविष्यका पुस्ताका लागि आस्था र प्रेरणाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। धार्मिक, सांस्कृतिक र सामुदायिक गतिविधिहरूलाई यसै मन्दिरमार्फत अझ सक्रिय बनाउने योजना अघि सारिएको छ।
सबैको सहयोग, हातेमालो र निरन्तर योगदानका कारण पुनर्निर्माण कार्यमा राम्रो प्रगति भइ छत ढलानको तयारी भइरहेको समाजसेवी मिस्त्री केशवदत्त जोशीले बताउनुभयो ।
हालसम्म ५० जनाबाट झण्डै साढे पाँच लाख आर्थिक सहयोग संकलन भएको र मन्दिरलाई पूर्ण रूपमा पुनर्निर्माण गर्न थप आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेको मन्दिर समितिले जनाएको छ। यस पवित्र धरोहरलाई सुन्दर, आकर्षक र सुदृढ रूपमा उभ्याउन सबै समुदाय, श्रद्धालु तथा शुभेच्छुकहरूलाई सकेको योगदान गर्न आग्रह गरिएको छ।
विश्वास, संस्कृति र पहिचानको प्रतीक मानिने डाँडाबाग मन्दिरको पुनर्निर्माण अभियान केवल भौतिक संरचना निर्माणमा सीमित छैन। यो हाम्रो इतिहासको रक्षा, संस्कृतिको संरक्षण र भविष्यप्रतिको सामूहिक जिम्मेवारीको प्रतिविम्ब रहेको स्थानीय सुरेश जोशीको भनाई छ । समुदायको साथ, श्रद्धालुहरूको माया र सहयोगी मनहरूको योगदानले डाँडाबाग मन्दिर छिटै नयाँ स्वरुपमा उभिन लागेको छ ।
इच्छुक सहयोगी सबैलाई सहयोगका लागि अनुरोध गरिएको छ ।




