दार्चुला । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका वडा नम्बर ७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करीब १५० मिटर तल खसेको छ ।
घटनास्थलमा अहिले उद्धारको काम चलिरहेको छ । अध्याँरोका कारण उद्धारमा कठीनाइ भएको हाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मर कुँवरले बताउनुभयो। दुर्घटनामा भएको क्षतिका विषयमा एकीन विवरण आउन बाँकी रहेको छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको छ भने प्रहरी र स्थानीय मिलेर उद्धारको काम गरिरहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । घटनाका बिषयमा थप विवरण आउन बाँकी रहेको छ ।
इलाका प्रहरी कार्यालय पाटन र ढोल्यामोड प्रहरीचौकीबाट समेत घटनास्थलका लागि प्रहरी टोली खटिएको छ ।




