दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित मालिकार्जुन माध्यमिक विद्यालय मडको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार (आज) विद्यालय व्यवस्थापन समिति सदस्य शुरेस सिंह धामीको अध्यक्षतामा उद्घाटन भएको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आजै सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक नवराज जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा मालिकार्जुन धाममा सञ्चालन भईरहेको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवमा कथावाचनको लागि बृन्दावनबाट आउनुभएका बालब्रह्मचारी पुज्य श्री खगेन्द्रजी महाराज बिबिए आचार्यज्युको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष नरेन्द्र सिंह धामी, मालिकार्जुन गाविसका पूर्व अध्यक्ष मोहन सिंह धामी लगायतको अतिथ्यता रहेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।
वार्षिकोत्सव समारोहको अवसरमा विद्यालय स्तरीय कक्षा १–३ पठन सिप, कक्षा ४–५ चित्र कला, कक्षा ६–८को कविता लेखन र कक्षा ९–१२ को हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय स्थान प्राप्त गर्ने सहभागी विद्यार्थीहरुलाई विभिन्न पुरस्कार वितरण गरिएको उहाँले बताउनुभयो ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक नवराज जोशीले विद्यालयको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आय १ करोड २३ लाख ७७ हजार ८ सय ८ रुपैँया १७ पैँसा, व्यय १ करोड १८ लाख ४८ हजार १८ रुपैँसा र सो अवधिको बचत ७ लाख ४७ हजार २ सय ३५ रुपैँया रहेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको मुद्धती खातामा ४ लाख, नेपाल बैंक लिमिटेडको गाकुलेश्वर स्थित मुद्धती खातामा ८ लाख ५० हजार र दिपेन्द्र स्मृती अक्ष्यकोषमा ७६ हजार ४ सय ९५ रुपैँया बचत रहेको प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो ।
वार्षिकोत्सव समारोहको अवसमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया