टी–२० विश्वकप खेल्दै दाजुभाइका चार जोडी

दार्चुला । टी–२० विश्वकपको १० औँ संस्करणमा दाजुभाइका चार जोडी खेल्दैछन् । नेपाल र आइरल्यान्डबाट दाजुभाइका एक जोडी छन् भने इटालीको टिममा दुई जोडी छन् । नेपालको टोलीमा आरिफ शेख र आशिफ शेख रहँदा आइरल्यान्डको टिममा ह्यारि टेक्टर र टिम टिक्टर रहेका छन् । ह्यारि दाजु हुन् भने टिम भाइ हुन् ।

इटालीमा रहेका दुई जोडी दाजुभाइ एन्थोनी मोसाका र जस्टिन मोसाका हुन् । यस्तै, ह्यारी मनेटी र बेन मनेटी पनि दाजुभाइ हुन् । बेन दाजु हुन् भने ह्यारि भाइ हुन् । मोसाका दाजुभाइ मध्ये एन्थोनी जेठा हुन् भने जस्टिन कान्छा हुन् ।

मैदानमा पनि हौसला दिने शेख दाजुभाइ
आरिफ र आशिफ शेख नेपालको विरगंजमा जन्मिएका हुन् । उनीहरूबिच साढे तीन वर्षको अन्तर छ । आरिफले नेपालको राष्ट्रिय टिममा जनवरी २०१५ बाट आवद्ध भएका हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटतर्फ सन् २०१८ मा नामिबियाविरूद्धको खेलबाट डेब्यू गरेका थिए । आशिफ शेखले भने राष्ट्रिय टोलीबाट सन् २०२१ मा नेदरल्यान्डविरूद्धको खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा भने उनले सन् २०२१ मा पपुवा न्युगिनीविरूद्ध पहिलो म्याच खेलेका थिए ।

सन् २०२१ देखि एक दिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको राष्ट्रिय टोलीमा दुई दाजुभाइ सहभागी हुँदै आएका छन् । आरिफ शेख नेपालको अलराउन्डर हुन् भने आशिफ विकेटकिपर तथा ब्याटर हुन् । भाइको क्रिकेटिङ करियरमा बाल्यकालका देखि नै सघाएका आरिफले मैदानमा पनि भाइलाई प्रेरित गरिरहेका हुन्छन् । आरिफले एकदिवसीय अन्तर्राष्ट्रियतर्फ ६५ म्याच खेल्दा १४०५ रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रियतर्फ भने उनले ४५ खेलमा ५ सय ५३ रन जोडेका छन् । उनी दायाँ हाते ब्याटर हुन् भने दायाँ हाते मध्यम पेसका बलर हुन् ।

यस्तै आशिफले एकदिवसीयतर्फ ६३ म्याच खेल्दा १६ सय ७७ रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रियतर्फ भने ६८ खेलमा उनले १६ सय ३९ रन बनाएका छन् । सन् २०२२ मा आइरल्यान्डविरूद्धको खेलमा बलरसँग ठोक्किएका ब्याटरलाई रन आउट नगर्दा उनले आईसीसी स्प्रिट अफ क्रिकेट अवार्ड समेत प्राप्त गरेका थिए ।

क्रिकेटिङ परिवारका टेक्टर
आइरल्यान्डका ह्यारि र टिम टेक्टरको पारिवारिक पृष्ठभूमि नै क्रिकेटिङ हो । उनीहरूको बुवा समेत क्लब क्रिकेटका खेलाडी थिए । उनीहरूका तीन दाजुभाइले नै आइरल्यान्डको अन्डर–१९ क्रिकेट टोलीको नेतृत्व गरिसकेका छन् । टेक्टर दाजुभाइका जेठा ज्याक टेक्टरले सन् २०१६, ह्यारिले सन् २०१८ र टिमले सन् २०२२ मा अन्डर १९ टोलीको कप्तानी सम्हालेका हुन् ।

टिम, ह्यारि र ज्याकले एकै समय फरक–फरक उमेर समूहको कप्तानीमा सम्हालेका थिए । टिमले अन्डर–१३ सम्हाल्दा ह्यारीले अन्डर–१६ को नेतृत्व सम्हालेका थिए भने ज्याकले अन्डर–१९ को कप्तानी गरेका थिए ।
ह्यारिले सन् २०१९ सेप्टेम्बरमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।

यस्तै एकदिवसीयतर्फ २०२० जुलाईमा प्रवेश गर्दा उनले टेस्टको पहिलो अनुभव २०२३ अप्रिलमा सँगाले । ह्यारि जोखिम आकलन गरेर खेल्ने क्षमताका ब्याटर हुन् । उनी विष्फोटक प्रहारमा भन्दा लामो पारि खेल्दै रन जोड्न माहिर छन् । ह्यारिले एकदिवसीय अन्तर्राष्ट्रियतर्फ ५४ खेलमा ११ सय ९२ रन जोडेका छन् । यस्तै, टी–२०अन्तर्राष्ट्रियतर्फ उनले ९५ खेलमा १७ सय ९१ रन बनाएका छन् । टिम टेक्टरले टी–२० अन्तर्राष्ट्रितर्फ ५ म्याचमा ९४ रन जोडेका छन् । टिम विष्फोटक पारि खेल्न रूचाउँछन् ।

इटालीलाई छनौट चरण पार गर्न मद्दत गरेका मोसाका दाजुभाइ
एन्थोनी र जस्टिन मोसाका इटालियन मूलका अस्ट्रेलियन हुन् । आँगनका क्रिकेट खेल्दै हुर्किएका उनीहरू पछि फरक–फरक पेशातर्फ लागे पनि क्रिकेटिङ छोडेनन् । एन्थोनी मिस्त्री थिए भने जस्टिन शारीरिक शिक्षा पढाउँथे । एन्थोनीको ध्यान न्यु साउथवेल्स राज्यमा स्थान बनाउँदै अस्ट्रेलियाबाट क्रिकेट खेल्ने थियो । सन् २०२० मा यी दाजुभाइलाइ इटालीको राष्ट्रिय टोलीबाट खेल्नका लागि प्रस्ताव आयो ।

क्रिकेटर बेन्जामिन मनेटीले उनीहरूलाई यस्तो प्रस्ताव गरेका थिए । आँगनमा क्रिकेट खेलेका यी दाजुभाइले कुनै राष्ट्रिय टोलीबाटसँगै ब्याटरका रूपमा उत्रिने सायदै सोचेका थिए । उनीहरूले उक्त प्रस्ताव स्वीकार गरे । उनीहरूले इडन गार्डेनजस्तो ऐतिहासिक भेन्यूमा आफ्नो कौशल देखाउँदै उनीहरूले इटालीलाई टी–२० विश्वकप छनौट पार लगाउन योगदान गरे । टी–२० विश्वकप क्वालिफायरको फाइनलमा रोमानियासँग मोसाका दाजुभाइले विष्फोटक पारि खेलेका थिए।

उनीहरूले पावर प्लेमा ९१ रन जोडेका थिए । उनीहरूको प्रस्तुतिको मद्दतमा इटालीले रोमानियालाई हराएको थियो । टी–२० अन्तर्राष्ट्रियतर्फ २० खेलमा जस्टिनले ३ सय ८१ रन बनाएका छन् । एन्थोनीले टी–२० अन्तर्राष्ट्रियतर्फ १८ खेलमा ४ सय ७९ रन जोडेका छन् । इटालीबाट आफूहरूको खेल आफ्ना पुर्खाको सम्मानमा समर्पण रहने उनीहरूले बताएका छन् ।

अलराउन्डर दाजुभाइ मनेटी
ह्यारि मनेटि र बेन मनेटी अलराउन्डर प्रदर्शनको खुबी भएका दाजुभाइ हुन् । उनीहरू दुवै अस्ट्रेलियामा जन्मिएका हुन् । बेनसँग सिड्नी क्रिकेट क्लबको अनुभव थियो भने ह्यारि एडिलेड स्ट्राइकर्सबाट क्लब क्रिकेटको अनुभव सँगालेका थिए । बेनले इटालीको राष्ट्रिय टोलीमा सन् २०२१ मा स्थान बनाउँदा ह्यारि २०२१ मा राष्ट्रिय टोलीमा समावेश भएका थिए । ह्यारिले टी–२० अन्तर्राष्ट्रितर्फ २१ म्याच खेल्दै ३ सय ५५ रन बनाएका छन् । एक इनिङ्समा सर्वाधिक चौका प्रहारको ५० औँ स्थानमा उनको रेकर्ड छ ।
टी–२० अन्तर्राष्ट्रियमा ८ खेल खेलका बेनले २३० रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रितर्फ एकै इनिङ्समा बढी क्याच गर्नेतर्फ उनले ५० औँ नम्बरमा स्थान बनाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?