दार्चुला । दार्चुला सदरमुकाम खंलगामा हत्या गरिएका प्रहरी हवल्दार योगेन्द्र घर्तीको राष्ट्रिय झण्डा ओढाएर सलामीसहित सम्मानका साथ अन्तेष्टी गरिएको छ ।
बंगाबगरमा डिउटीमै रहेका बेला प्रहरी हवल्दार घर्तीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सोमबार बेलुकीको घटना भएपनि मंगलबार विहान मात्रै जानकारी पाएको प्रहरीले जनाएको छ । घर्तीको बुधबार महाकाली नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकको चिहान महाकाली नदी किनारमा नेपाल प्रहरीले राष्ट्रिय झन्डा ओढाएर सलामी अर्पण गर्दै सम्मानका साथ अन्तेष्टी गरिएको हो ।
महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार घर्तीको हत्या प्रकरणमा संलग्न रहेका आपोपित सात जनामध्ये चार जना पक्राउ परेका छन् । मुख्य अभियुक्त तीन जना अझै फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यो घटनामा अनुसन्धानको क्रममा दिपिका पाल, पायल लुहार, सुरेन्द्र बम र राजेन्द्र डडाल पक्राउ परेका छन् । बारका सञ्चालक आशिक पाल, उनकी श्रीमती लक्ष्मी बडू र भाइ मनिस पाल भने अझै फरार रहेको बताइएको छ ।
घटनाका मुख्य अभियुक्त पक्राउ परेपछि थप कुरा खुल्ने प्रहरीको भनाइ छ ।
मृतकका आफन्त र शुभचिन्तकहरुले कर्तव्यनिष्ट प्रहरीको क्रुर हत्यामा संलग्नहरुलाई खोजीगरी गम्भीर अनुसन्धानका साथै कडा कार्वाही गर्न माग गरेका छन् ।




