दार्चुला । दार्चुलामा मंगलबार भएका दुई फरक जघन्य हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न महिला अधिकारकर्मी र नागरिक समाजले माग गरेका छन्।
जिल्लामा एकै दिन भएका दुई हत्याकाण्डले शान्ति–सुरक्षा व्यवस्थापनमा गम्भीर चुनौती थपिएको भन्दै नागरिक समाज दार्चुलाले घटनामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न प्रशासनसँग माग गरेको हो।
महिला मानव अधिकार रक्षकहरूको सञ्जाल दार्चुलाले पनि पछिल्लो समय जिल्लामा विभिन्न विकृति, विसंगति, हत्या–हिंसा तथा आतंकका घटना बढ्दै गएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला सदरमुकामसहित बजार क्षेत्रमा लागू पदार्थ र मदिरा सेवन गर्ने व्यक्तिबाट आपराधिक गतिविधि बढिरहेको भन्दै त्यस्ता गतिविधिमाथि निगरानी बढाई शान्ति–सुरक्षा कायम गर्न प्रशासनसँग आग्रह गरिएको छ।
ड्युटीमा रहेका प्रहरीको हत्या भएको घटना तथा शैल्यशिखर नगरपालिका–८ देवलमा एकल महिलाको हत्या गरी गरगहना लुटपाट गरिएको घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरिएको महिला मानव अधिकार रक्षकहरूको सञ्जाल दार्चुलाका अध्यक्ष गौरी बडालले बताउनुभयो। उहाँका अनुसार बजार क्षेत्रमा देहव्यापार लगायत अनैतिक गतिविधि बढिरहेको भन्दै ती गतिविधिमाथि पनि निगरानी गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।
नागरिक समाज दार्चुलाले पनि २६ गते राति भएका दुवै घटनामा संलग्नलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ। यसअघि भएका जघन्य आपराधिक घटनामा संलग्न व्यक्तिहरू समेत हालसम्म पक्राउ नपरेको उल्लेख गर्दै नागरिक समाजले नागरिकलाई सुरक्षित रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरेको छ।
बुधबार महिला मानव अधिकार रक्षकहरूको सञ्जाल दार्चुलाका अध्यक्ष गौरी बडाल र नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टसहितका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई ज्ञापनपत्र बुझाउँदै उक्त मागहरू राखेका हुन्।




