दार्चुला । दार्चुलामा निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा खटाईएको छ । निर्वाचन प्रहरीको लागि छनोट गरिएको १० दिने आधारभूत तालिम मंगलबार सम्पन्न भएको थियो भने बुधबारबाट उनिहरुलाई कार्यक्षेत्रमा खटाईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलामा नेपाल प्रहरीतर्फ ८ सय ८४ जना र सशस्त्र प्रहरी बल तर्फ ४६ जना गरेर ९ सय ३० जना निर्वाचन प्रहरी भर्ना गरिएका छन् । उनीहरुलाई तालिमको अन्तिम दिन मंगलबार नमूना अभ्यासहितको तालिम दिइएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । मतदानको दिन हुन सक्ने सम्भाव्य घटनाहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा निर्वाचन प्रहरीलाई नमूना अभ्यासहितको तालिम दिइएको उहाँले बताउनुभयो ।
तालिमपछि निर्वाचन प्रहरीलाई तत्कालका लागि प्रहरी युनिटमा प्रहरीसँगै ड्युटीमा खटाइएको छ । मतदान हुनुभन्दा एक हप्ता अगाडिबाट सम्बन्धित मतदान केन्द्रहरुमा अन्य सुरक्षा निकायसँगै निर्वाचन प्रहरीलाई पनि खटाइने उहाँले बताउनुभयो ।




