अपिहिमाल-३ का स्थानीयद्धारा वडा विभाजनको माग, सम्बोधन नभए मतदान बहिष्कार गर्ने चेतावनी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ अन्तर्गत साविक खण्डेश्वरी गाउँ विकास समितिको वडा नं. १ देखि ५ सम्मको भूगोल मिलेर बनेको क्षेत्रका स्थानीयले पुनः वडा विभाजनको माग अघि सारेका छन्। साविक खण्डेश्वरी गाविसका वडा नं. ४ र ५ हाल अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ मा समेटिएका छन्। तर, वडा सीमांकन र विभाजन स्पष्ट नभएका कारण लामो समयदेखि प्रशासनिक कार्यसम्पादन तथा सेवा प्रवाहमा समस्या हुँदै आएको गुनासोसहित स्थानीयले वडा विभाजनको काम राख्दै गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहरालाई ज्ञापन पत्र बुझाएको स्थानीय कमल रोकायाले बताउनुभयो ।

उनिहरुले माग पूरा नभए फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने समेत चेतावनीसमेत दिएका छन्।

गाउँपालिका घोषणा भएलगत्तै साविक खण्डेश्वरी गाविसका वडा नं. ४ र ५ का छविस, खिर्सा र सम्भाड क्षेत्रका बासिन्दाले वडा बाँडफाँड नमिलेको भन्दै हेरफेरको मागसहित आन्दोलन गरेका थिए । साविक गाविसको वडा नं. ३ देखि ५ सम्मको भूगोल मिलाएर एउटा नयाँ वडा थप गर्ने सर्वदलीय सहमतिपछि आन्दोलन स्थगित गरिएको संघर्ष समितिका संयोजक लाल सिंह धामीले बताउनुभयो ।

२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनपछि तत्कालीन गाउँपालिका नेतृत्वले सर्वदलीय सहमति अनुरूप सीमा हेरफेर प्रस्ताव संघीय सरकारलाई पठाएको र २०७९ सालमा निर्वाचित जनप्रतिनिधिहरूले समेत पुनः सीमा हेरफेरको निर्णय गरी पठाएको विषय आफूहरूले सुनेको स्थानीयको दाबी छ। तर हालसम्म वडा विभाजनको प्रक्रिया अघि नबढ्दा स्थानीयले सास्ती भोग्दै आएको उल्लेख गरिएको छ।

स्थानीयका अनुसार वडा नं. ३ को भट्टार बस्तीबाट वडा कार्यालयसम्म पुग्न एकतर्फी चार घण्टा पैदल यात्रा गर्नुपर्छ। वर्षायाममा बाटोघाटोको समस्या झन् जटिल हुने गरेको छ। छविस, झुस्कु, खिर्सा र सम्भाड क्षेत्रबाट गाउँपालिका केन्द्र पुग्न करिब एक घण्टा लाग्ने भए पनि वडा कार्यालय पुग्न तीन घण्टासम्म समय लाग्ने अवस्था रहेको उनीहरूको गुनासो छ।

“राज्यले हाम्रो पीडा नसुनेको र दोस्रो तहको नागरिकसरह व्यवहार गरेको महसुस गरेका छौं,” ज्ञापनपत्रमा उल्लेख छ, “माग सम्बोधन नभए प्रस्तावित २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छौं।”

फागुन १० गते बसेको स्थानीय भेलाले विगत २०७४ सालदेखि उठाउँदै आएको विषयलाई पुनः दोहो¥याउँदै साविक खण्डेश्वरी गाविसका वडा नं. ३ देखि ५ सम्मको भूगोल समेटेर छुट्टै नयाँ वडा गठन गरी आफूहरूलाई त्यसमा समावेश गर्न माग गरेको छ।

स्थानीयले सम्बन्धित निकायसमक्ष तत्काल पहल गरी सीमा हेरफेर टुंग्याउन आग्रह गरेका छन्। ज्ञापन पत्रमा १ जना भन्दा बढी स्थानीय नागरिकले हस्ताक्षर गरेको स्थानीय कमल रोकायाले बताउनुभभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?