दार्चुला। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न दार्चुलामा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ।
निर्वाचन आयोग, नेपाल ले लागू गरेको निर्वाचन आचारसंहिता, २०८२ को परिपालना सम्बन्धमा दार्चुलास्थित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले सूचना जारी गर्दै सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएका हुन्।
सूचनामा जिल्लामा क्रियाशील राजनीतिक दल, तिनका भातृ संगठन तथा उम्मेदवारबाट हालसम्म सन्तोषजनक रूपमा आचारसंहिता पालना भइरहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरिएको छ। तर केही उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृति नलिई सवारी साधन प्रयोग गरेको तथा बजार र आवासीय क्षेत्रमा चर्को आवाजमा प्रचार–प्रसार गरेको भन्ने जानकारी प्राप्त भएको जनाइएको छ।
अनुगमन अधिकृतले मुख्य निर्वाचन अधिकृतको अनुमति लिई बढीमा दुईवटा हलुका सवारी साधन मात्र प्रयोग गर्न, स्थानीय प्रशासनको अनुमति बिना जुलुस वा आमसभा नगर्न, निजी तथा सार्वजनिक स्थलमा झण्डा वा चुनाव चिन्ह टाँस्न निषेध गरिएको स्पष्ट पारेका छन्।
त्यस्तै नगद वा जिन्सी वितरण, आर्थिक सहायता, चन्दा, पुरस्कार वा बुथ खर्च दिने वा घोषणा गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। प्रचार–प्रसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने, घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने र बाजागाजा वा झाँकीसहित जान नहुने व्यवस्था उल्लेख गरिएको छ।
भित्ते लेखन, सवारी साधन प्रयोग गरी ¥याली आयोजना, तथा ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको सम्मानमा आँच पुग्ने प्रकारको प्रचार–प्रसार गर्न नहुने पनि सूचनामा उल्लेख छ। जुलुस वा आमसभामा दल वा उम्मेदवारको चिन्ह अंकित पोशाक, लोगो वा सामग्री प्रयोग गर्न समेत निषेध गरिएको छ।
आचारसंहिता उल्लङ्घन भएमा निर्वाचन आचारसंहिता, २०८२ को दफा ४८ अनुसार उम्मेदवारी रद्दसम्म हुने कानुनी व्यवस्था रहेको चेतावनी दिइएको छ। उल्लङ्घन भएको देखिएमा अनुगमन अधिकृत वा अनुगमन समितिलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ।
जिल्लामा निर्वाचन तयारीसँगै आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिइएको बताइएको छ।




