चुनाव लक्षित गर्दै दार्चुलामा मदिरा ओसापसार, बिक्री–वितरण र सेवनमा प्रतिबन्ध

दार्चुला । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ।

निर्वाचनलाई व्यवस्थित, मर्यादित, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न तथा होली पर्वलाई पनि मर्यादित बनाउन फागुन १५ गतेदेखि मदिराको ओसारपसारमा रोक लगाइने भएको छ। यस्तै, फागुन १७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म जाँडरक्सीजन्य पदार्थको बिक्री–वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिनुभयो।

उहाँका अनुसार सो अवधिमा कसैले मदिरा बिक्री–वितरण तथा सेवन गरी हुलहुज्जतलगायतका गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार आउँदो फागुन १८ गते सोमबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार पनि निषेध हुनेछ। यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न–गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको जनाएको छ।

यस्तै, मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका गाडी तथा पास प्राप्त सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने निर्वाचन आयोगले जनाएको छ। उक्त निर्णय फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान कार्य सम्पन्न नभएसम्म लागू हुनेछ।

अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी तथा ढल मर्मत, र दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन सञ्चालनमा रहने जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?