दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ माध्यमिक विद्यालय झरकाँडामा झन्डै ३२ वर्ष अध्यापन गराउनुभएका शिक्षक नारायण दत्त जोशीको विदाई गरिएको छ ।
२०५१ साल पुस १८ गतेदेखि विद्यालयमा शिक्षण सेवा सुरु गर्नुभएका जोशीले २०८२ साल माघ २८ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउनुभएको थियो । उहाँको योगदानको कदर गर्दै विद्यालय परिवारले औपचारिक कार्यक्रमको आयोजना गरी सम्मानसहित विदाई गरेको विद्यालयका सूचना अधिकारी शिक्षक धर्मानन्द जोशीले जानकारी दिनुभयो ।
झन्डै तीन दशकभन्दा बढी समय विद्यालयमा सेवा गर्दै हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्नुभएका जोशीको योगदान अविस्मरणीय रहेको कार्यक्रममा उल्लेख गरिएको थियो ।
विद्यालय परिवार, विद्यार्थी, भूतपूर्व विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उल्लेख्य सहभागितामा शिक्षक जोशीलाई दोसल्ला ओढाई, प्रशंसापत्र प्रदान गरी सम्मानसहित विदाई गरिएको जनाइएको छ ।




