दार्चुला । प्रतिनिधि सभा निर्वाचन आउन अब तीन दिन मात्र बाँकी रहेको छ। निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भइसकेको अवस्थामा मतदान अधिकृतहरू मतपत्रसहित आवश्यक सामग्री बोकेर आ–आफ्ना मतदान केन्द्रतर्फ प्रस्थान गर्न सुरु गरेका छन्।

जिल्लाका दुर्गम क्षेत्रमा रहेका मतदान अधिकृतहरूलाई आइतबारबाट मतपत्र तथा अन्य आवश्यक सामग्रीसहित पठाउन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो।

उहाँका अनुसार शनिबारदेखि निर्वाचन सामग्री वितरण सुरु गरिएकोमा आइतबारसम्म १२७ मतदान केन्द्रका मतदान अधिकृतहरूले सामग्री बुझिसकेका छन्।

त्यस्तै, आइतबार मात्र २९ मतदान केन्द्रका मतदान अधिकृतहरूले मतपत्र बुझेका सहायक मुख्य निर्वाचन अधिकृत विष्णु अवस्थीले जानकारी दिनुभयो।

जिल्लाको दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रका मतदान अधिकृतहरूले मतपत्र बुझिसकेको उहाँले बताउनुभयो। अवस्थीका अनुसार अपिहिमाल गाउँपालिकाका सबै १० मतदान केन्द्रका मतदान अधिकृतहरूले मतपत्र बुझिसकेका छन्।

त्यस्तै मार्मा गाउँपालिकाका १० मतदान केन्द्र, नौगाड गाउँपालिका र व्यास गाउँपालिकाका तीन–तीन, शैल्यशिखर नगरपालिकाका दुई तथा लेकम गाउँपालिकाको एक मतदान केन्द्रका मतदान अधिकृतहरूले मतपत्र बुझेका छन्।

मतपत्र बुझेका मध्ये अधिकांस मतदान केन्द्रका मतदान अधिकृतहरू हिजै मतपत्र र निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ प्रस्थान गरिसकेको उहाँले बताउनुभयो। मतदान अधिकृतले आज बेलुकी सम्म सम्बन्धीत मतदान केन्द्रमा पुगेर सूचना टाँस गरिसक्नुपर्ने सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?