दार्चुला । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
तल्लो मूलपानी मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर भेटायो । आर्मीका कप्तान विनोद भण्डारीले ५८, भीम सार्कीले नटआउट ५४, तृतराज दासले ५१ रन बनाए । गण्डकीका सुवास भण्डारीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९ ओभर ४ बलमा २०९ रन बनाउँदा सबै विकेट गुमायो । गण्डकीका अर्जुन कुमालले ६७, दीपक डुम्रेले ५१ रन बनाए । आर्मीका आकाश चन्द र शाहब आलमले ३/३ विकेट लिए ।
प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जीत हो भने गण्डकीको लगातार दोस्रो हार हो ।
यस्तै मूलपानी मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ७ विकेटले हरायो । बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ३ विकेट गुमाएर भेटायो । पुलिसका शङ्कर रानाले शतक, दिनेश खरेलले ७० रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछाने, रिजन ढकाल र सुवास खत्रीले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको बागमतीले ४९ ओभर २ बलमा २६५ रन बनाउँदा सबै विकेट गुमायो । बागमतीका पवन थापाले ७९, ईशान पाण्डेले ७० रन बनाए । पुलिसका रशिद खानले ३ विकेट लिए ।
प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जीत हो भने बागमतीको दोस्रो हार हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।





प्रतिक्रिया